हप्तैपिच्छे भारतीय नोट नेपाल भित्रदै
गुगलपाटी संवाददाता वीरगन्ज,२७ जेठ
अघिल्लो हप्ता झण्डै ४३ लाख भारतीय रकम सहित दुईजनालाई पक्राउ गरेको पर्सा प्रहरीले फेरि आइतबार अन्य दुईजनालाई पक्राउ गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरी पर्सा प्रहरीले करिब ३१ लख भारतीय रकम सहित उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका निरज कुमार सिंह र अजित कुमार झा रहेका छन् । आइतबार दिउसो भारतको रक्सौलबाट वीरगन्ज आउदै गरेको अवस्थामा उनीहरुलाई उक्त रकम सहित वीरगन्ज भन्सार इलाकालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
उनीहरुको साथबाट ३१ लाख ८ हजार रुपैया बरामद भएको प्रहरीले बताएको छ । खासगरी दुई हजार दरका नोटहरु उनीहरुबाट बरामद भएको प्रहरीले बताएको छ। प्रहरीले उनीहरुको साथबाट ना.३१ प.५६०६ नम्बरको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ । भारतीय रुपैया अबेद्य रुपमा नेपाल भित्राएका बिभिन्न पाँचजना ब्यक्तिलाई एक महिनाको अवधिमा पक्राउ गरिसकिएको र उनीहरुको साथबाट तीनवटा मोटरसाइकल बरामद भएको पर्सा प्रहरी उपरीक्षक ढकालको भनाइ छ ।