सुन तस्करी काण्ड : प्रहरी अधिकारीलाई जोगाउने शुरु भयो खेल

गुगलपाटी संवाददाता काठमाडौं
२८ जेष्ठ २०७५ ०७:०३

३८ क्वीन्टल सुन तस्करीका अभियुक्तहरुले अर्को मुद्दा पनि खेप्नु पर्ने भएको छ । प्रहरी अधिकारीलाई भ्रष्टाचार र अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन लागिएको हो ।

खासगरी सम्पत्ति शुद्धीकरण विभागले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार बिहान काठमाडौं ल्याइसकेको छ ।‘उनीहरुलाई हाल केन्द्रीय कारागारमा राखिएको छ । सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं ल्याएको बेला सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले पनि थप अनुसन्धानका लागि उनीहरुसँग सोधपुछ गर्ने तयारी गरेको छ ।

संगठित अपराध, आतंकवाद एवं कालो धनलाई सेतो बनाएवापत लाग्ने सम्पत्ती शुद्धीकरणको मुद्दामा सामान्य अवस्थामा भन्दा दोब्बर सजायँ हुन सक्छ । साथै, उनीहरुले आर्जन गरेको सम्पत्ति राज्यको जफतसमेत गर्न सक्छ ।

तर,सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीविरुद्ध भने भ्रष्टाचार मुद्दा चल्ने भएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने बताइएको छ ।

पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन हुने भएको हो ।

क्षेत्रीय कारागारमा रहेका एसएसपी श्याम खत्रीसहित अन्य प्रहरी अधिकारीलाई क्रमशः काठमाडौं ल्याउने तयारी रहेको एक अधिकारीले बताए ।श्रोतहरुका अनुसार प्रहरी अधिकारीहरुलाई भ्रष्टाचार मात्रै मुद्दा चलाउदा उनीहरु छिट्टै उन्मुक्ति हुने अवस्थामा पुग्नेछन् । बिगो बरावरको रकम तोकी उनीहरुलाई उन्मुक्ती दिइने श्रोतको दाबी छ ।