प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाउँ सिफारिस

गुगलपाटी संवाददाता काठमाडौं
२९ जेष्ठ २०७५ १२:०९

संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको परिषद् बैठकले जोशीको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा सिफारिश गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिको सिफारिश पनि छिट्टै गरिने बताए ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र कानूनमन्त्री शेरबहादुर तामाङ सहभागी थिए ।

यसअघि न्यायपरिषद्को बैठकले जोशीसहित तीन जनाको नाम संवैधानिक परिषद्मा पठाएको थियो । संसदमा संसदीय सुनुवाइ समिति गठन हुन नसक्दा परिषद्ले प्रधानन्यायाधीश सिफारिश गर्न सकेको थिएन ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त नियमावलीले सुनुवाइ समितिसम्बन्धी व्यवस्था गर्नेछ । समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिसभाबाट ३ सदस्य रहने प्रस्ताव गरिएको छ ।

संसदीय सुनुवाइपछि राष्ट्रपतिलाई प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ । चैत १ गतेदेखि सर्वोच्च कामु प्र्रधानन्यायाधीशको भरमा चल्दै आएको छ ।