मोदीको हत्या गर्ने माओवादीको धम्की
गुगलपाटी संवाददाता नयाँदिल्लीभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्रले यतिबेला निकै चर्चा पाइरहेको छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाण भने पर्याप्त छैन ।
एक हिंसाको आरोपमा केही व्यक्ति पक्राउ परेको र उनीहरुबाट बरामद पत्रमा उल्लेख भएअनुसार नक्सलवादी (भारतीय माओवादी)ले मोदीको हत्या गर्ने योजना बनाएको भनेर दावी गरिएको छ ।
महाराष्ट्र प्रहरीका अनुसार पूर्वप्रधानमन्त्री राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र माओवादीले गरेको छ । सन् १९९१ को मेमा तमिलनाडुको श्रीपेरम्बदुरमा आत्मघाती बम विष्फोट गराइ भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो ।
यसैबीच गत जनवरीमा भीमा कोरेगाउँमा भएको हिंसाका क्रममा पक्राउ परेका पाँच जनामध्ये रोना ज्याकब विल्सनको दिल्लीस्थित घरबाट हत्याको षडयन्त्रसम्बन्धी पत्र फेला पारिएको हो । सो पत्रमा भारतीय जनता पार्टी (भाजपा)ले बिहार र पश्चिम बंगालमा हारे पनि १५ भन्दा बढी राज्यमा जितेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘कमरेड प्रकाश’लाई सम्बोधन गर्दै सो पत्रमा लेखिएको छ, ‘मोदी राज अन्त्य गर्नका लागि कमरेड किशन र केही अरू वरिष्ठ कमरेडहरूले ठोस कदम चाल्न सुझाव दिनुभएको छ । हामी राजीव गान्धीको हत्या गरिएजस्तै योजनाबारे विचार गरिरहेका छौं ।’
प्रहरीका अनुसार माओवादीको पत्रमा थप लेखिएको छ, ‘यो आत्मघाती कदम पनि हुन सक्छ र असफल पनि हुन सक्ने आशंका पनि छ । तर पार्टीको पोलिटब्यूरोले यसबारे छलफल चलाउनुपर्छ ।’
सो पत्र महाराष्ट्र प्रहरीले पुणेस्थित विशेष अदालतमा पेस गरेको छ ।