हेटौंडामा साझा बसले भोलिदेखि सेवा दिने
हेटौंडा, १ असार हेटौंडामकवानपुर साझा यातायात प्रा.लि.ले हेटौंडामा सार्वजनिक बस सेवा सुरु गर्ने भएको छ । हेटौंडाका १० जना व्यवसायीको लगानीमा ११ वटा बसमार्फत सेवा सुरु गर्न लागिएको हो ।
अहिलेलाई हेटौंडादेखि मनहरी, वुद्धचोक–क्याम्पाडाडा हुँदै हटिया र वुद्धचोक– औद्योगिक क्षेत्र हुँदै हटियासम्म गरी तीनवटा रुटमा बस सेवा सुरु गर्न लागिएको जनाइएको छ । अहिले ११ वटा बसबाट सेवा सुरु गरिने र पछि २० वटा सम्म पु¥याउने लक्ष्य रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष भेष खड्गीले जानकारी दिए । उनकाअनुसार करिब साढे तीन करोडको लगानीमा सुरु गरिएको बस सेवाबाट ५० जनाले रोजगारी पाउनेछन् । २६ सिट क्षमताको बसमा महिला कर्मचारी पनि राखिएको जनाइएको छ । बसमा सीसी क्यामेराको समेत व्यवस्था गरिएको अध्यक्ष खड्कीले बताए ।
बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिने बसले विद्यार्थीहरुलाई ३० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ । ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिक र रातो कार्ड भएका अपाङ्गलाई भाडादरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । चालक र कन्डक्टर पोशाकमा रहनेछन् भने बसमा चढेपछि टिकट अनिवार्य गरिएको छ । हरेक रुटमा २०/२० मिनेटमा बस छुट्ने उनले बताए । साझा यातायातले आज शुक्रबार आफ्नो रुटमा बाजागाजा र तुल ब्यानरसहित सवारी सञ्चालन सुरु गर्ने जनाएको छ । भोलि शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले औपचारिक बस सेवाको सुरुवात गर्ने जनाइएको छ ।