सीतालाई सिहारेर प्रचण्ड केही दिन सिंगापुरमै बस्ने

गुगलपाटी संवाददाता काठमाडौं
११ असार २०७५ १२:२२

पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका नेकपा अध्यक्ष प्रचण्ड अझै केही दिन उतै रहने भएका छन् । प्रचण्डपुत्री गंगा दाहाल भने आइतबार साँझ स्वदेश फर्किएकी छिन् ।

उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल लगायतका समस्याबाट पीडित सीताको गतसातादेखि सिंगापुरमा उपचार भइरहेको छ । पत्नी सीताको उपचारका लागि प्रचण्ड गत असार ४ गते सिंगापुर गएका हुन् ।

पारिवारिक स्रोतका अनुसार अहिले सीता दाहाललाई चिकित्सकहरुले फिजियो थेरापी गराइरहेका छन् । तातोपानीमा डुबाएर दाहालको उपचार भइरहेको छ ।

अझै केही दिनसम्म फिजियो थेरापी गर्नुपर्ने भएकाले आमा र बुबालाई उतै छाडेर छोरी गंगा काठमाडौं फर्किएकी हुन् ।पुत्रशोकको पीडालाई भुल्न नसकिरहेका बेला नेकपाका अध्यक्ष प्रचण्ड आफ्नी जीवनसंगिनीको विमारबाट थप चिन्तामा परेका छन् । जनयुद्धका बेलामा आफूलाई दुःखसुखमा साथ दिएकी सीतालाई प्रचण्ड आफैंले सिंगापुरमा केयर गरिरहेका छन् ।

प्रचण्ड र सीताका साथमा नेपालबाटै गएकी एक जना नर्ससमेत रहेको पारिवारिक स्रोतले बताएको छ।