चेपाङ बालबालिकालाई पोशाक र ब्याग
गुगलपाटी संवाददाता हेटौंडामनहरी–४ चिसापानीस्थित चेपाङ प्राविमा अध्ययनरत् सीमान्तकृत चेपाङ बालबालिकालाई पोशाक, शैक्षिक सामग्री र स्कूलव्याग बितरण गरिएको छ । सीसीएस ईटलीको सहयोगमा विकासका लागि सहकार्य नेपाल (हेल्प को.डे.नेपाल) को पहलमा अतिविपन्न चेपाङ विद्यार्थीलाई सहयोग हस्तान्तरण गरिएको हो ।
मनहरी गाउँपालिका ४ का वडाअध्यक्ष ध्रुब खड्काले बालबालिकालाई विद्यालय सामग्र हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा पशुपतिनाथ मावि व्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, विकासका लागि सहकार्य नेपालका कार्यकारी प्रमुख भरत पाठक, मनहरी श्रोतकेन्द्रका स्रोतव्यक्ति रमेश शर्मा पराजुलीलगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुबहादुर प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष खड्काले एक शिक्षक मात्र दर्बन्दी भएको विद्यालयलाई गाउँपालिकाले सहयोग गर्ने बताए । चेपाङ प्राविमा एक जना मात्र शिक्षक दर्बन्दी रहेको र एक सय ६० जना बिपन्न चेपाङ, तामाङ, बनकरिया बालबालिका अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले बताए ।
सहयोगी संस्थाले विद्यालयमा रंगरोगनका साथै खानेपानी, विद्युत, पंखा, फर्निचर उपलब्ध गराएको छ । विकासका लागि सहकार्य नेपालका कार्यकारी प्रमुख पााठकले दुई बर्षसम्म विद्यालयमा बिभिन्न सहयोग गरिएको र दातासँगको समन्वयमा आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।