प्रदेश सभा बैठकमा बिनियोजन बिद्ययकमाथि छलफल शुरु

गुगलपाटी संवाददाता हेटौँडा, १६ असार
१६ असार २०७५ ११:२१

प्रदेश नं ३ प्रदेशसभाको शनिबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत उद्योग, पर्यटन, वातावरण र भौतिक पूर्वाधार तथा योजना मन्त्रालय शिर्षकमाथि छलफल भएको छ ।
प्रदेश सरकारले गत असार १ गते आव २०७५/७६ का लागि रु ३५ अर्ब ६१ करोड २६ लाखको अनुमानित आय व्यय ९बजेट० प्रदेशसभामा प्रस्तुत गरेको थियो । छलफलमा सहभागी सदस्यले समानुपातिक र समन्यायिक विकास तथा गरिबी न्यूनीकरण गर्ने खालका आर्थिक प्याकेजलाई बजेटमा समावेश गर्नुपर्ने बताउँदै जननिर्वाचित सरकारले निष्पक्षता र पारदर्शीतामा जोड दिई आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँहरुले मन्त्री पदमा बसेकाले आफ्नो जिल्लालाई केन्द्रविन्दुमा राखेर बजेट छुट्ट्याइएकोमा गुनासो गर्नुभयो । यसरी छलफलमा सहभागी हुने सदस्यहरुमा पशुपति चौंलागाईं, गीता वाग्ले, रमेश पौडेल, विशाल खड्का, रिना गुरुङ, नारायणबहादुर सिलवाल, भीमसेन खत्री, कमलबहादुर सिम्खडा, सुरेन्द्रराज गोरसाईं, डा राजाराम कार्की , प्रेमबहादुर थापा, योगेन्द्र संग्रौला, निमा लामा, सन्तबहादुर प्रजा, दिनेश मर्हजन, नरोत्तम वैद्य, छिरिङदोर्जे लामा र प्रेमबहादुर पुलामी हुनुहुन्छ ।

प्रदेशसभाको अर्को बैठक यही असार १७ गते विहान ११ बजे बस्नेछ । भोलिको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि व्यवस्था, कृषि र सहकारी तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत छलफल हुने कार्यक्रम रहेको प्रदेशसभाका प्रमुख सचिव भरतबहादुर बुढाथोकीले बताउनुभयो ।