सरिखेतसम्म यातायात सञ्चालन भएपछि स्थानीय दंग
गुगलपाटी संवाददाता मकवानपुर,१७ असारमनहरी गाउँपालिकाको मनहरी बजारबाट सिमपानी–देवकोटहुँदै सरिखेतसम्म यातायात सञ्चालन भएको छ । बर्षायाममा देवकोटको बाटो हुँदै बस सञ्चालन गरिएको यो पहिलो पटक हो । नियमित रुपमा केहीदिनदेखि मनहरी हुँदै सिमपानी देवकोटको बाटो भएर बस सञ्चालन गरिएको राक्सिराङ पालिका वडा नं ३ का वडा अध्यक्ष बाबुलाल स्याङतानले बताए ।
वडा अध्यक्ष स्याङ्तानका अनुसार यसबर्ष मनहरी हुँदै सरिखेत पुग्ने बाटोमा कुनै पनि अबरोध नआउने गरी बस सञ्चालनको व्यवस्था गरिएको छ । स्थानीयको जागरुकता र स्थानीय सरकारको समन्वयमा बस सेवालाई निरन्तरता दिइने उनले बताए ।
दुईदशक अघिदेखि मनहरी गाउँपालिका वडा नं ८ सिमपानी हुँदै राक्सिराङ गाउँपालिकाको वडा नं ३ सरिखेत पुग्ने गरी बाटो निर्माण थालिएको थियो । तर हिउँदमहिनाभर मनहरी र चुर्लिङ खोला किनार हुँदै बस सञ्चालन हुने भएपछि पाखाको बाटो ओझेलमा पर्ने गरेको थियो । अहिले बर्षायाममा समेत बस चल्न थालेपछि साबिक सरिखेत, राक्सिराङ र कालिकाटार गाविसका बस्तीमा बसोबास गर्दै आइरहेका बासिन्दाले सुविधा पाएको वडा अध्यक्ष स्याङ्तानले बताए । ठूला बससँगै सिमपानी देवकोट सरिखेत खण्डमा ३ वटा बोलेरो भ्यान र अटोहरु नियमित रुपमा सञ्चालनमा आइरहेको उनले बताए ।