कुख्यात फ्रान्सेली डाँका हेलिकोप्टरको सहयोगमा जेलबाट फरार

गुगलपाटी संवाददाता पेरिस, फ्रान्स, १७ असार
१८ असार २०७५ ०८:३४

कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् ।
फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका केही शसस्त्र व्यक्तिहरूले उनलाई जेलबाट भगाएको यस घटनासँग निकट स्रोतले जनाएको छ ।
सन् २०१० मा यहाँ भएको सशस्त्र डकैतिको योजनाकार ठहर गर्दै यहाँको पुनरावेदन अदालतले २५ वर्षको जेल सजाय सुनाएपछि फाइडलाई जेलबाट भगाइएको हो । आठवर्ष पहिले भएको उक्त घटनामा एक महिला प्रहरीसमेतको ज्यान गएको थियो ।
फाइडसहित तीनजना सहयोगी जेलबाट भागेको स्रोतले जनाएको छ ।
सुरक्षाकर्मीले उक्त हेलीकोप्टरलाई रिआउ शहरको उत्तरपूर्वी क्षेत्रमा भेटिएको थियो । प्रहरीले सम्पूर्ण पेरिस क्षेत्रमा सुरक्षा अवस्थालाई कडा पार्दै फरार अभियुक्तलाई खोजिरहेको छ ।
फाइडले जेलबाट भागेको यो दोस्रो घटना हो । उनले सन् २०१३ मा पनि उत्तरी फ्रान्सको एक जेलबाट भागेका थिए ।
उनले सन् २०११को मध्यपछि जेलजीवन विताउँदै आएका थिए ।
पिस्तोलधारी कुख्यात डाँका फाइडले जेलबाट भाग्ने क्रममा तीनजना सुरक्षागार्डलाई बन्धक बनाएपनि उनीहरूलाई लगत्तै छोडेको बताइएको छ ।  (रासस/एएफपी)