नारायणी संघका २७६ कर्मचारी बेरोजगार बन्दै
हेटौंडा, २५ असार हेटौंडासरकारले यातायात व्यवसायी संघसंस्था नवीकरण नगर्ने भएपछि यातयात ब्यबसायीहरुको देशकै सबैभन्दा ठूलो संस्था नारायणी यातयात ब्यबसायी संघमा कार्यरत २७६ जना कर्मचारीहरु बेरोजगार बन्ने भएका छन् ।
सरकारले सिन्डिकेटको आरोपमा यातायात व्यवसायी संघसंस्था र समितिहरुलाई नवीकरण नगर्ने निर्णय गरेपछि कर्मचारीहरु बेरोजगार हुने देखिएको हो । यातयात समितिहरुको बिकरणसम्बन्धी सरकारले गरेको निर्णयका कारण संस्थासँगै कर्मचारीहरुसमेत अन्यौलमा छन् ।
यातयात ब्यबसायी समितिहरुको बैंक खाता समेत रोक्का गरिएको छ । विगत २० बर्ष देखि काम गर्दै आएकाहरुको जागीर नै धराप परेको छ । नारायणी यातयात ब्यबसायी संघको मूख्य कार्यालय हेटौडासहित विभिन्न शाखामा गरी २७६ जना कर्मचारी कार्यरत छन् ।
संघमा कार्यरत एक कर्मचारीले सरकारको हचुवाको निर्णयले बेरोजगार बनाएको बताए । संघका अध्यक्ष हिरालाल श्रेष्ठले कर्मचारी ब्यबस्थापन गर्ने सम्बन्धी छलफल भैरहेको बताउँदै बिना अध्ययन सरकारले यातयात क्षेत्रमा हस्तक्षेप गरेकोले कर्मचारीहरुसँगै व्यवसायी पीडित भएको बताए ।