हेटौंडा सिमेन्ट तीन वर्षदेखि नाफामा

हेटौंडा
२६ असार २०७५ ०४:२८

हेटौंडा/ सरकारी लगानीका उद्योगहरु घाटा जाने वा बन्द नै भइरहेको परिस्थतिमा सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगले भने पछिल्ला वर्षहरुमा नाफा कमाउन थालेको छ । व्यवस्थापन चुस्त दुरुस्त र कर्मचारीहरुको मेहनेतको कारण आर्थिक वर्ष २०७०/०७१ देखि उद्योग लगातार फाइदामा गएको हो ।

नेपालमा अहिले निजी क्षेत्रबाट सिमेन्ट कारखानाहरु खोल्ने क्रम तीव्र भई प्रतिस्पर्धा गर्नुपरेको अवस्थामा पनि उद्योगले तीन वर्षदेखि नाफामा रहेर उदाहरणीय काम गरिरहेको छ ।
२०३२ साल असोज १३ गते स्थापना भएको यो उद्योगले व्यवसायिक उत्पादन भने २०४२ सालदेखि मात्र गरेको हो । प्रतिदिन उत्पादन क्षमता सात सय ५० टन रहेको यस उद्योगमा स्थायी कर्मचारी तीन सय ४६ जना रहेका छन् भने करिब ७० को हाराहारीमा ज्यालादारी मजदुरहरु रहेका छन्। सुरुमा यो उद्योग घाटामा सञ्चालन भए पनि नयाँ व्यवस्थापन आएपछि भने फाइदामा गएको कम्पनीको विवरणमा देखिएको छ ।

कम्पनीको सेयर पुँजी एक सय ५० करोड रहेको छ भने चुक्ता पुँजी ९० करोड ६८ हजार रहेको छ । कम्पनीले अहिले नागरिक लागानी कोषमा ६३ करोड १६ लाख ४२ हजार जम्मा गर्नुको अतिरिक्त विभिन्न बैंकहरुमा समेत मुद्दती खातामा ४५ करोड रहेको र यो अहिलेसम्मकै ऐतिहासिक सफलता भएको महाप्रबन्धक प्रेम शंकर सिंहले बताए । कम्पनी आव २०६९/०७० मा ९५ लाख ४६ हजार र २०७०/०७१ मा तीन करोड ४२ लाख २८ हजार घाटामा रहेकोमा आव २०७१/०७२ मा पाँच करोड ३२ लाख ४७ हजार, २०७२/०७३ मा चार करोड ६५ लाख ५१ हजार र २०७३/०७४ मा १५ करोड ४९ लाख पाँच हजार नाफामा रहेको छ । यो समयमा चरम नाकाबन्दीको कारण इन्धन र कोइलाको अभावमा पाँच महिना उद्योग बन्दको बाबजुद पनि उद्योगलाई नाफामा लान सकिएकोमा महाप्रबन्धक सिंह यसलाई सफलता मान्छन् ।

घाटा उद्योग नाफामा लानु ठूलो चुनौती रहेको, कच्चा पदार्थ, इन्धनमा बचत गर्नुका साथै उत्पादन वृद्धि गरी उत्पादन लागत घटाउनु नै मुख्य कारण देखिन्छ । पहिला २७ प्रतिशत कोइला खपत भएकोमा अहिले २१ प्रतिशत मात्र खपत भइरहेको उनको भनाइ छ । पहिला सिमेन्ट प्रतिटन उत्पादन गर्दा २४० देखि २५० किलो कोइला खपत हुने गरेकोमा अहिले उत्पादनमा भएको वृद्धिको कारण प्रतिटन २०० देखि २१० किलोसम्म कोइला खपत भई प्रतिटन ४० किलो कोइला बचत छ । अब आगामी दिनहरुमा विदेशी सिमेन्ट कारखानाहरुसँग प्रतिस्पर्धा गर्नको लागि पुराना मेसिन र प्रविधिहरुको विस्थापित गरी गरेर त्यसको ठाउँमा अत्याधुनिक मेसिनहरु र नयाँ प्रविधि ल्याई ७५० मेट्रिक टन क्षमतालाई वृद्धि गरी दुई हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य रहेको महाप्रबन्धक सिंहले बताए ।

कम्पनीलाई अझ प्रतिस्पर्धी बनाउन आगामी पाँच वर्षसम्मकै सम्पूर्ण कार्ययोजना बनाई विश्लेषण गर्ने काम भइरहेको उनले बताए । आव २०७४/०७५ मा उद्योगले १२ करोड ७५ लाख ४९ हजार फाइदा कमाएको उद्योगले जनाएको छ । हाल उत्पादन क्षमता वृद्धि भई प्रतिदिन दुई हजार मेट्रिक टन उत्पादन गरिरहेको जनाउँदै उद्योगले २०७८/०७९ मा दुई अर्ब ८८ करोड ४४ लाख ५३ हजार फाइदा गर्ने लक्ष्य राखेको छ । ग्राहकको रोजाइमा हेटौंडा सिमेन्ट परे पनि मागअनुसार उत्पादन गर्न नसक्दा उद्योग घाटामा गएको थियो । उत्पादन र पूर्ति बढेसँगै उद्योग लगातार नाफामा गएको हो ।
आजको साझाकुरा दैनिकमा खबर छ ।