चुरे क्षेत्र संरक्षणका लागि आएको रकम स्वाहा

गुगलपाटी संवाददाता मकवानपुर ,२७ असार
२७ असार २०७५ ०२:०२

चुरे क्षेत्र संरक्षणका लागि आएको रकम यस आर्थिक वर्षमा नौ करोड १६ लाख ५३ हजार रुपियाँ सकिएको छ ।

चुरे क्षेत्र संरक्षणमा सरोकारवाला आधा दर्जन कार्यालयले यस आर्थिक वर्षमा संयुक्तरुपमा उक्त रकम सकेका हुन् । जल उत्पन्न प्रकोप नियन्त्रण, जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, राष्ट्रपति चुरे संरक्षण कार्यालय र जिल्ला वन कार्यालयले संयुक्त रुपमा उक्त रकम त्यसक्षेत्रमा सिध्याएका छन् ।जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले पहिरो रोकथाम तथा नियन्त्रण र चुरे क्षेत्रमा जलपुनर्भरण पोखरी निर्माणमा तीनकरोड ६० लाख रुपियाँ, राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यालयले एककरोड ८३ लाख रुपियाँ, भू–संरक्षण कार्यालयले एककरोड ८३ लाख रुपियाँ, जिल्ला वन कार्यालयले ७६ लाख ९१ हजार रुपियाँ, पशु सेवा कार्यालयले ३३ लाख २३ हजार रुपियाँ तथा कृषि विकास कार्यालयले ३६ लाख रुपियाँ चालु आर्थिक वर्ष २०७४/०७५ मा चुरे क्षेत्र संरक्षणका लागि खर्च गरेका हुन् ।

सवै कार्यालयहरुले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रममार्फत् एकीकृत रुपमा योजनाबद्ध ढंगबाट उक्त बजेट खर्चिएको बकैया गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा जिल्ला वन कार्यालय मकवानपुरमा प्रमुख तथा यस कार्यक्रमका सदस्य सचिव प्रल्हाद धितालले जानकारी दिए ।

मकवानपुरमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बकैया र शक्ति हिरामुनी नदी प्रणालीअन्तर्गत् कामहरु भइरहेका छन् । यसवर्ष यस कार्यक्रमअन्तर्गत् बकैया र शक्ति हिरामुनी नदी प्रणालीका लागि जिल्ला वनस्पति कार्यालयलाई बजेत प्राप्त नभएको उनले बताए । ‘यसवर्ष वनस्पति कार्यालयलाई बजेट प्राप्त नभएको कारण यसक्षेत्रमा उक्त कार्यालयमार्फत् काम भएनन्’, उनले अघिल्लो वर्षहरुमा उक्त कार्यालयले पनि चुरे संरक्षणका लागि काम गरेको जानकारी दिए ।

कार्यक्रमअन्तर्गत् जिल्ला वन कार्यालयले वृक्षरोपण, विरुवा उत्पादन र हटस्पट निर्माण, जिल्ला पशु सेवा कार्यालयले गोठ सुधार, बायो ग्यास र घाँस उत्पादनमा जोड दिएको देखिन्छ । जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयले तटबन्धन तथा नदी नियन्त्रणतर्फ कार्य गरेको र भू–संरक्षण कार्यालयले गल्छी, पहिरो तथा खहरे रोकथामको क्षेत्रमा काम गरेको जिल्ला वन कार्यालय मकवानपुरका प्रवक्ता विशाल भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार कृषि विकास कार्यालयले साना सिँचाई, मौरी विकास, तरकारी विकास तथा भिरालो जग्गामा खेती प्रविधिलगायत क्षेत्रमा काम गरेको छ ।
साझाकुरा दैनिकको सहयोगमा