भान्सेलाई बलात्कार गरेको अभियोगमा दुईजना पक्राउ

गुगलपाटी संवाददाता
२ श्रावण २०७५ ०६:३९

बलात्कार अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सप्तरीको तिलाठी गाउँपालिका ५ बसाईन गाउँका २४ वर्षीय सुरेन्द्र सरदार र २० वर्षीय कपुर सरदारलाई एक महिलामाथि बलात्कार गरेको अभियोगमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका असई प्रकाश महतोले जानकारी दिए।

पक्राउ परेका दुबैजनाविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

गत असार ३० गते राति साढे ११ बजे महोत्तरीको बर्दिबासस्थित कलश पेट्रोलपम्प नजिकैको जंगलमा लगेर  उनीहरूले आफूलाई बलात्कार गरेको ४२ वर्षीय पीडित महिलालले प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ।

ती महिला पक्राउ परेका दुई युवासहित अन्यकी भान्से थिइन्। आर्थिक अवस्था कमजोर भएकी उनले बर्दिबास चोकमा सडक कालोपत्रे गर्ने कामदारहरूलाई खाना बनाएर दुई सन्तानसहित आफ्नो पेट पाल्दै आएकी थिइन्।

पूर्व–पश्चिम राजमार्गको बर्दिबास चोकभन्दा ५ सय मिटर पर रातुपुल नजिकै सडक किनारमा पाल टाँगेर सडक कालोपत्रे गर्ने कामदारहरू बस्छन्। तिनै कामदारहरूलाई उनी खाना बनाएर खुवाउँथिन्। बलात्कार अभियोगमा पक्राउ परेका दुई युवा पनि सडक पिच गर्ने काम गर्थे।

‘कपुरले हात समाते र सुरेन्द्रले करणी गरे,’ उजुरीमा उल्लेख छ,‘ गुहार माग्दा मुख थुनिदिए। कसैलाई भनेमा ज्यान मारिदिने भने’, उनले प्रहरीसँग भनेकी छन्।

रातको समयमा गुहार माग्दा कसैले नसुनेको पीडित महिलाले बताएकी छन्। बलात्कारपछि उनलाई जंगलमै छोडेर अभियुक्तहरू भागेको प्रहरीले जनाएको छ। आफूले रुँदै रात काटेको पीडित महिलाले प्रहरीसँग बताएकी छन्।