देशभरका स्वास्थ्य क्षेत्रमा हड्ताल

गुगलपाटी संवाददाता काठमाडौं
३ श्रावण २०७५ ०४:०७

देशभरका चिकित्सकहरु हडतालमा उत्रेका छन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन् ।

नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने जनाएको छ ।देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन यस्तो कदम चाल्नु परेको चिकित्सक संघको भनाइ छ ।

केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील नभए देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ ।

यसअघि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले केसीको माग सम्बोधन गर्न आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए ।अस्पतालजस्तो संवेदशनशील क्षेत्रमा हडताल गरिएको भन्दै कतिपयले आलोचना गरेका छन् ।चिकित्सक संघ हडतालमा उत्रिए पनि नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट स्वास्थ्यकर्मी भने सहभागी नहुने भएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र राष्ट्रिय चिकित्सक संघले पत्रकार सम्मेलन गरेर स्वास्थ्य संस्था बन्द गर्ने निर्णयप्रति असहमति जनाएका हुन् ।