डाक्टर केसीलाई सरकारले झुक्कायो ,जब जिउँदा प्रहरीलाई मृत भनेपछि रोए डाक्टर

गुगलपाटी संवाददाता काठमाडौं
३ श्रावण २०७५ १२:०१

सरकारले आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन झुटको सहारा लिएको छ । डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंतर्फ ल्याइएको छ ।

काठमाडौं आउन तयार भए पनि डा. केसीले सेनाको हेलिकोप्टरमा नजाने अडान लिएका थिए । तर, झडपका क्रममा घाइते भएका प्रहरीको मृत्यु भएको खबर सुनाएपछि केसी विक्षिप्त भए । उनी रुँदै ‘म काठमाडौं जान्छु’ भन्दै आफैं बेडबाट झरेका थिए ।

तर, मृत्यु भएका भनिएका प्रहरी जवान कमल उपाध्यायको उपचार चलिरहेको थियो । ‘बल प्रयोग गरेर डा। केसीलाई बाहिर निकाल्दा थप तनाव हुने भएपछि यस्तो गर्नुपरेको हो’ स्थानीय प्रशासन स्रोतको दाबी छ ।तर, डा केसीलाई सुनाइएको प्रहरीको मृत्यु भएको खबर सञ्चार माध्यमहरुमा पनि आयो ।

त्यसपछि स्थानीय प्रशासन आफैंले प्रहरी जवानको मृत्यु भएको खबर खण्डन गरेको छ । यसैबीच कर्णाली प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) सुरेशविक्रम शाहले जुम्लामा गोली चल्दा प्रहरी जवानको मृत्यु भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

विद्यार्थीले सीसा प्रहार गर्दा जवान कमल उपाध्याय गम्भीर घाइते भएको बताउँदै शाहले उनको मृत्यु नभएको बताएका हुन् । शाहले भने, ‘उनको मृत्यु भएको हल्ला कसरी फैलियो थाहा भएन । तर, उनको मृत्यु भएको होइन । गोली चलेको कुरा पनि गलत हो ।’