मकवानपुरमा २६ हजार सवारी कारबाहीमा, ६८ दूर्घटनामा ५८ जनाको मृत्यु

हेटौंडा, ५ असार
५ श्रावण २०७५ ००:१९

मकवानपुरमा एक वर्षको अवघिमा २६ हजार एकसय सवारी साधन कारबाहीमा परेका छन् । नियमबिपरित सवारी चलाउने सवारी साधनलाई कारबाही गरेर ट्राफिक प्रहरीले एक करोड ६४ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को अवधिमा सबैभन्दा बढी बस, ट्रिपर, ट्याङ्कर कारबाहीमा परेका छन् । ७ हजार ८ सय ५ वटा बस, ट्रिपर, ट्याङ्कर कारबाहीमा परेकोमा ५२ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । त्यसैगरी ६ हजार एक सय ५२ वटा मोटरसाइकल कारबाहीबाट ३८ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ । त्यसैगरी ५ हजार एकसय ९४ वटा जीप/कारलाई कारबाही गरेकोमा ३० लाख ८१ हजार रुपैयाँ संकलन भएको जनाइएको छ ।

बितेको आर्थिकवर्षमा ६८ वटा दूर्घटना भएकोमा ८४ वटा सवारी साधन संलग्न रहेका थिए । जसमा ५८ जनाको मृत्यु भएको थियो । जसमा ३५ जना गम्भीर घाइते र ४२ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सबै दूर्घटनामा गरी ४३ जना पुरुष, १० जना महिला, ४ जना बालक र एकजना बालिकाको मृत्यु भएको थियो । दूर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेको देखिएको छ । एकवर्षको अवधिमा भएको दूर्घटनामा ३२ वटा मोटरसाइकल, २७ वटा ट्रक, ट्याङ्कर,ट्रिपर र १३ वटा टेक्कर संलग्न रहेको देखिन्छ । त्यस्तै ९ वटा बससमेत दूर्घटनामा संलग्न थिए ।

सोअवधिमा हाइवेमा सबैभन्दा बढी दूर्घटना भएको देखिएको छ । हाइवेमा ४४ दूर्घटना भएकोमा ग्रामीण सडकमा १६ र सहरी सडकमा ८ दूर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ मा मकवानपुरमा ६८ वटा दूर्घटना हुँदा भएकोमा ३० वटा दूर्घटना भने दिउँसोको समयमा भएको जनाइएको छ । त्यस्तै त्यस्तै बेलुकी ६ बजेदेखि राती १२ बजेसम्मको समयमा पनि अधिकांश दूर्घटना हुने गरेको तथ्याङ्क छ ।

एक वर्षको अवधिमा बेलुकी ६ देखि १२ बजेसम्मको समयमा २२ वटा दूर्घटना भएका छन् । रातको १२ बजेदेखि बिहान ६ बजेसम्मको समयमा भने सबैभन्दा कम दूर्घटना हुने गरेको देखिएको छ । एक वर्षभित्र सो समय अवधिमा जम्मा २ वटा मात्र दूर्घटना भएका छन् । बिहान ६ बजेदेखि १२ बजेसम्मको समयमा पनि एकवर्षभित्र १४ दूर्घटना भएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रकुमार यादवले जानकारी दिए ।

ट्राफिकका अनुसार सबैभन्दा बढी दूर्घटना चालकको लापरबाहीको कारण हुने गरेको छ । चालकको लापरबाहीको कारण एक वर्षमा मकवानपुरमा ४५ वटा दूर्घटना भएको ट्राफिकको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै तीव्र गतिका कारण १३ वटा दूर्घटना भएका छन् भने पैदलयात्रुको गल्ती र सडकको अवस्थाको कारणले गर्दा २÷२ वटा दूर्घटना भएका छन् । एकवर्षको अवधिमा ओभरटेकको कारण ३ वटा, मादक पदार्थ सेवनका कारण २ र यान्त्रिक गढबढीको कारण एउटा दूर्घटना भएको ट्राफिक प्रमुख यादवले बताए ।