स्थायी राजधानीको लागि २५ मिटर सडक : बिडारी

गुगलपाटी संवाददाता हेटौँडा,६ श्रावण
६ श्रावण २०७५ १४:१६

राष्ट्रिसभा सांसद तथा बरिष्ठ अधिवक्ता रामनारायण विडारीले हेटौंडामा स्थायी राजधानी रहनको लागि मुख्य राजमार्ग फराकिलो हुनुपर्ने बताएका छन् । आईतबार सञ्चारकर्मीहरुसँग हेटौंडामा कुरा गर्दै उनले स्थायी राजधानीको लागि २५ मिटर सडक फराकिलो हुनपर्ने बताएका हुन् ।
२५ मिटर सडक फराकिलोसँगै हेटौंडा कुलेखानी सडक अन्तर्गत भिमफेदी कुलेखानी सुरुङमार्ग निर्माण भए हेटौंडालाई स्थायी राजधानी बनाउन कसैले रोक्न नसक्ने बिडारीको भनाई छ । सरकारले नै हेटौँडाको सवालमा २५ या १६ भन्ने विषयमा छलफल जारी राखेको तर आफु २५ मिटरको पक्षमा रहेको उनले बताए ।
साथै उनले डा. गोबिन्द केसीको आन्दोलनलाई लिएर सदन अबरुद्ध गर्नु गलत भएको बताए । ‘केसीले उठाएका सबै माग जायज छैनन्, सक्ने कुरा सरकारले पुरा गर्छ’, उनले भने, ‘पहिले नै खुलिसकेका मेडिकल कलेजहरुलाई अब बन्ने कलेजले सम्बन्धन नदिने भनेर नियम बनाउन सकिँदैन ।’
डा. केसीको पछाडी हावादारी ढंडले गगन थापा जस्ता नेताहरु लाग्नु पनि गलत भएको बिडारीले जिकिर गरे । ‘आफु सत्तामा हुँदा केही नगर्ने अहिले सडकमा उर्लने कुरा लाजमर्दो छ’, उनले भने ।