पाकिस्तानमा चुनावी अभियानमा हिडेका उम्मेदवारको हत्या
गुगलपाटी संवाददाता इस्लामावादपाकिस्तानमा आसन्न निर्वाचनका उम्मेदवारको आइतबार हत्या भएको छ ।मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटना बढ्दै गएका छन् । आइतबार भएको घटनामा एक उम्मेदवारसहित दुईजनाको मृत्यु भएको र अरू केही घाइते भएको प्रहरी अधिकारीले बताएका छन् । स्थानीय एक प्रहरी अधिकारी मन्जुर अफ्रिदीले दिएको जानकारीअनुसार गान्दापुरका लागि पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालकको मृत्यु भएको हो।
आत्मघाती हमलाबाट घाइते भएका दुवैजनालाई अस्पतालमा पुर्याएर उपचार गराइरहेको भए पनि उपचार सफल नभएपछि निधन भएको घोषणा गरिएको थियो । आक्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएका व्यक्तिहरूलाई लक्षित गरी आत्मघाती बम हमला गरेको अफ्रिदीले जानकारी दिए । प्रहरीले घटना भएको क्षेत्रमा १३ जना प्रहरीलाई खटाएको भए पनि उनीहरूले प्रहरीलाई खबर नगरी आफ्नै सुरले हिँडेकाले घटना भएको प्रहरी अधिकारीको भनाइ छ ।
प्रहरीले यस्ता अप्रिय घटना हुनसक्ने चेतावनी पहिले नै दिएको भए पनि उनीहरूले बेवास्ता गरेको बताइएको छ । आइतबार भएको घटनाका बारेमा अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । पाकिस्तानमा बुधवार निर्वाचन हुँदै छ । त्यहीअनुसार निर्वाचन प्रचारप्रसार कार्यक्रम तीव्र भइरहेको छ । प्रचारप्रसारको तीव्रतासँगै पाकिस्तानमा यस पटकको निर्वाचनका लागि आयोजित कार्यक्रममा भएका आक्रमणमा कम्तीमा १७० जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् ।