मकवानपुरको निर्यात ब्यापार निरन्तर खस्कदो

गुगलपाटी संवाददाता हेटौंडा, ९ साउन
९ श्रावण २०७५ ०२:०३

देशकै ठूलो क्षेत्रफल भएको हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुले गर्ने निर्यात व्यापारमा पछिल्ला वर्षहरुमा भारी गिरावट आएको छ । ४ वर्षअघिको तुलनामा गत आर्थिक वर्षको निर्यात व्यापार झण्डै ५० प्रतिशतले खस्किएको देखिएको छ ।
विशेष गरी क्रसरजन्य पदार्थको निकासीमा मकवानपुरको निर्यात व्यापार निर्भर थियो । क्रसरजन्य पदार्थको निर्यातमा सरकारले रोक लगाएपछि निर्यात व्यापार पनि ओरालो लागेको हो । पा“च वर्षअघि मकवानपुरका २५ निर्यातमूलक उद्योगमध्ये १९ वटा त क्रसरजन्य नै थिए । त्यस्तै युनिलिभर नेपाल, एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता वहुर्राष्ट्रिय उद्योगले पनि चार वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् ।

आव २०७०/०७१ मा भने मकवानपुरबाट निर्यात ब्यापार गर्ने उद्योगको संख्या २२ थियो । अहिले त्यो संख्या घटेको आधा दर्जनमा झरेको छ । आव २०७१/०७२ मा ४८ करोड ७७ लाख रुपैया“को उत्पादन निर्यात भएकोमा आव २०७४÷०७५ मा आइपुग्दा २६ करोड ६७ लाख रुपैयाँमा झरेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । आव २०७२/०७३ मा ३७ करोड ५ लाख रुपैया“को सामान निर्यात भएकोमा आव २०७३/०७४ मा ३५ करोडमा झरेको छ । एकवर्षकै अन्तरालमा आव २०७४÷७५ मा भने झण्डै ९ करोडले निर्यात व्यापार घटेको तथ्याङ्क छ ।मकवानपुरका उद्योगबाट उत्पादित वस्तुहरु हाल भारतमा मात्र निर्यात हुने गरेको छ । तेस्रो मुलुकमा हुने निर्यात प्राय ठप्प छ । उद्योगहरुले वस्तु उत्पादन भन्दा पनि ट्रेडिङ व्यवसायतर्फ ध्यान दिएकाले निर्यात व्यापारमा गिरावट आइरहेको उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको भनाइ छ । स्वदेशमा वस्तु उत्पादन गर्ने उद्योगलाई बढी कर लिने र अन्य देशबाट सामान ल्याई मार्केटिङ गर्ने उद्योगलाई प्रोत्साहित गर्ने गरिएकाले निर्यात व्यापारमा ह्रास आएको अर्यालको दावी छ । मकवानपुर उद्योग वाणिज्य संघले सार्वजनिक गरेको एक तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा हरेक वर्ष २० देखि ३० प्रतिशतका दरले निर्यात व्यापारमा गिरावट आउँदै गरेको देखिएको छ । आव २०६८÷६९ मा ३१ वटा उद्योगले निर्यात ब्यापार गरेकोमा आव २०६९/०७० मा २८ उद्योगले भारत तथा तेस्रो मुलुक निर्यात ब्यापार गरे ।

आव २०७०÷ ०७१ मा मकवानपुरका २२ उद्योगले निर्यात ब्यापार गरेका मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । बितेको आर्थिकवर्षमा मकवानपुरबाट बालाजी नेचुरल इण्डष्ट्रिज, सीएसआई नेपाल प्रालि र प्रोजिओकेम प्रालिले मात्र भारतमा उत्पादन बिक्री गरेका छन् । बालाजीले लौठसल्ला प्रशोधन गरी टेक्सास बोकाटालगायत औषधिजन्य वस्तु निर्यात गर्दै आएको छ । भने सीएसआईले कोल्ड ड्रिङ्स्को बोटलको बिर्को निर्यात गर्दछ । प्रोजिओकेमले पोलिथिन र फाइबरका भाँडा बनाउने केमिकल उत्पादन गरी विदेश पठाउने गरेको छ । बितेको वर्ष एसियन पेन्ट्स् प्रालि, नेचुरल फ्लावर एण्ड हर्वल प्रालि, नेपाल इकारात इञ्जिनियरिङ प्रालि, सौभाग्य ह्याण्डीक्राफ्टको निर्यात व्यापार शून्य रह्यो । अघिल्ला वर्षहरु यी उद्योगले निर्यात व्यापारमा राम्रो योगदान गर्ने गरेका थिए । मकवानपुरमा रहेका आधा दर्जन बहुर्राष्ट्रिय कम्पनीमध्ये सीएसआई नेपालले मात्र निर्यात ब्यापार गरिरहेको छ ।देशकै कुल निर्यात व्यापारमा वृद्धि भइरहेको बेला मकवानपुरको निर्यात भने वर्षेनि ओरालो लाग्दै आएको देखिएको छ । बितेको वर्ष मुलुकभरको निर्यात व्यापार करिब १० प्रतिशतले बढेकोमा मकवानपुरबाट हुने निर्यात भने करिब २४ प्रतिशतले गिरावट आएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले बताए ।हेटौंडामा औद्योगिक क्षेत्र–२ निर्माणको क्रममा रहेको र औद्योगिक क्षेत्र–१ मा पनि उद्योग सञ्चालनको राम्रो वातावरण बनेमा भारतलगायत तेस्रो मुलुकमा सामान निर्यात गर्ने उद्योग थपिने उद्योगीको विश्वास रहेको छ ।

तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएसँगै यहाँ औद्योगिक वातावरण राम्रो हुँदै जाने र नयाँ उद्योग पनि थपिने अपेक्षा गरिएको उद्योग संघका अध्यक्ष अर्यालको विश्वास छ । हेटौंडा औद्योगिक क्षेत्रमा हाल झण्डै सयवटा उद्योग सञ्चालनमा छन् । केही समयअघि मात्र मात्र फेसन पेन्ट्स्, श्री हाइड्रो पावर, लक्ष्मी टेक्नोप्लास्ट, सूर्य पेन्ट्स्लगायत नयाँ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा हाल चार हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
साझाकुरा राष्ट्रिय दैनिकबाट