मकवानपुरमा स्थायी शिक्षकका लागि : माग भन्दा चारहजार बढी आवेदन
कृष्णउदास खनाल हेटौंडा,१० साउन
शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागि आवेदन आह्वान गरेकोमा मकवानपुरमा जिल्लामा भने माग भन्दा चार हजार बढी आवेदन परेको छ ।
बितेको असार १ गतेदेखि ३० गतेसम्म र देब्बर दस्तुर तिरी साउन ६ गतेसम्म शिक्षा बिकास तथा समन्वय इकाई समिति मकवानपुरमा परेको आवेदन अनुसार जिल्लामा आवेदन दिनेहरुको संख्या उलेख्य रहेको हो । मकवानपुर जिल्लामा प्राबि,निमावि र माबि तिनै तहका लागि जम्मा ९ सय ४५ जना माग भएकोमा ५ हजार ६ वटा आवेदन स्थायी शिक्षका लागि परेको शिक्षा बिकास तथा समन्वय इकाई समिति मकवानपुरका सूचना अधिकृत शम्भु प्रसाद पौडेलले जानकारी दिए ।
उनले यो संख्या माग भन्दा करिब तीन दोब्बर भएको जानकारी दिए । करिब ६ बर्षपछि शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि आवेदन आह्वान गरेका कारण पनि फाराम भर्नेहरुको संख्या बढी भएको समन्वय इकाईका अधिकृत देवनारायण चौधरीले बताए । मकवानपुरमा जम्मा निमाविका लागि सबैभन्दा बढी ४ सय ४३,प्राबिका लागि एक सय ८४ तथा माविका लागि ३ सय १८ माग भएकोमा प्राविमा सबैभन्दा बढी २ हजार,७ सय ६० आवेदन परेको छ भने निमाविमा एक हजार,९३ तथा माविमा ५ सय ५३ आवेदन परेको छ । शिक्षक सेवा आयोगका अनुसार हाल आवेदन परेका परीक्षार्थीहरुले असोज ११,१२ र १३ गते दिउँसो १ः३० बजे परीक्षा दिनेछन् । मकवानपुरका हकमा भने परीक्षा केन्द्रपछि तय गरिनेछ ।
प्राबिमा चलखेल हुनसक्ने
शिक्षक सेवा आयोगले लिन लागेको यो परीक्षाको सबै जिम्मेवारी आयोगले लिने भएपनि प्राबि तहका लागि भनेृ जिल्लामा नै उत्तरपुस्तिका चेकजांचको ब्यवस्था मिलाएको छ । शिक्षा बिकास तथा समन्वय इकाइ समिति मकवानपुरले नै परीक्षा लिने र उत्तर पुस्तिका पनि उसुैले रुजु गर्ने भएका कारण केही चलखेल पो हुन्छ कि भन्ने आशंका परीक्षार्थीहरुमा रहेको पाइएको छ । मकवानपुरमा प्राविमा नै सबैभन्दा बढी आवेदन पर्नुले पनि सो कुरा पुष्टी गर्दछ ।