नुवाकोट घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो (अपडेट)

गुगलपाटी संवाददाता रसुवा
१० श्रावण २०७५ १०:५२

गोसाइकुण्ड गाउँपालिका २ टिमुरेमा बुधबार रातिको पहिरोमा मृत्यु हुनेको स‌ंख्या ८ पुगेको छ । १ जना अझै बेपत्ता छन् ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको जिल्ला भोटेकोसी गाउँपालिका–५ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोसी–४ का रेशम खड्का रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–१ थुमन का मिङमार गुम्बु तामाङ, गाउँपालिका–२ टिमुरेका दोर्जे वाङजु घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनी रहेका जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । बेपत्ताको खोजी भइरहेको छ ।

घाइते ५ जनाको थप उपचारका लागि काठमाडौं पठाइएको गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । ७ जना घाइते भने सामान्य उपचारपछि घर फर्केका छन् । १२ जना घाइते भएका थिए ।

बुधबार मध्यराति खसेको पहिरोले २ टहरा, एक होटेल, टिमुरेस्थित अस्थायी प्रहरी बिटसमेत पुरिएको छ । २ वटा कन्टेनर र एक वटा ट्रकमा क्षति पुगेको छ ।

घटनास्थलमा रातिदेखि नै उद्धार गरिएको थियो । बिहीबार बिहानबाट थप सुरक्षाकर्मी परिचालन गरेर उद्धार र बेपत्ताको खोजी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।