१ लाख घूस लिने सुब्बा र लेखापाल अख्तियारको फन्दामा

गुगलपाटी संवाददाता वीरगन्ज
११ श्रावण २०७५ ११:३५

पर्साको धोबनी गाउँपालिका कार्यालयका लेखापाल र नायव सुब्बालाई ठेकेदारले दिएको १ लाख १० हजार रुपैयाँसहित अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

शुक्रबार विहान वीरगन्ज महानगरपालिका १४ पिप्रास्थित डेरामा ठेकेदारसँग घूस रकम लिंदालिंदै अख्तियारको टोलीले पक्राउ गरेको हो । गाउँपालिकाका लेखापाल रौतहटको गरुडा नगरपालिका–६ निवासी कृष्णनन्दन राय यादव र नायव सुब्बा वारा पचरौता–२ निवासी एनामुल हक अन्सारीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।गाउँपालिकाको सन्सारी माई मन्दिरको मर्मत सम्भार गरी पर्खाल निर्माण र सडक ढलानको ठेक्का फस्र्योट गर्दा कूल ठेक्काको १० प्रतिशत कमिशन घूस वापत लेखापालले माग गरेका थिए ।

‘ठेकेदारले कार्य सम्पन्न गरी विगत एक महिना देखि ठेक्का रकमका लागि दौडधुप गरिरहेका थिए,’ अख्तियारका एक पदाधिकारीले भने, ‘ठेक्का फस्र्यौटका लागि लेखापालबाट रकम माग भएपछि अख्तियारलाई सूचना आएको हो ।’ठेकेदारका अनुसार मन्दिरको ठेक्काबाट ४० हजार र सडक ढलानको ठेक्काबाट ७० हजार घूस दिइएका बताइएको छ ।