स्वास्थ्य र शिक्षामा निजीकरण रोकिनुपर्नेमा जोड
गुगलपाटी संवाददाता हेटौडा, ११ साउन
बौद्धिक मञ्च मकवानपुरले शुक्रबार एक अन्तरक्रिया कार्यक्रम गर्दै स्वास्थ्य र शिक्षा राज्यको जिम्मेवारी भएको भन्दै यसलाई पूर्णरुपमा राज्यले हेर्नुपर्नेमा जोड दिएको छ ।
चिकित्सा शिक्षाको राष्ट्रिय नीति एवम प्रा.डा.गोविन्द केसीका मागहरु शीर्षकमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्वास्थ्य र शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्नेमा जोड दिए । डा. गोविन्द केसीका मागहरु आम जनताको माग भएकोले सरकारले मागप्रति प्रतिबद्धता जनाउदै सहमति गर्नु सकरात्मक कार्य भएको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।
उनीहरुले विगत जस्तै सहमति मात्र गर्ने कार्यन्वयन नगर्नेतर्फ सचेत हुन आग्रह गर्दै कार्यक्रममा बोल्नेहरुले सर्वसाधरण र बौद्धिक जमातले खबरदारी गरिरहनुपर्ने बताए । बौद्धिक मञ्चका अध्यक्ष डा.सम्राट तुम्बाहाङफेको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सल्लाहकार कौशल पाण्डे, प्राध्यापक ऋषिराम आचार्य, राजनीतिज्ञ सोनाम सिं स्याङतान, पत्रकार नवराज तिमल्सिना, अधिवक्ता अरुणकुमार खतिवडा, साहित्यकार आर सी रिजाल, प्राध्यापक ओम प्रकाश मल्ल, दिपक खड्का, राजनीतिकर्मी रामहरि धिताल, पत्रकार नानीमैया विष्ट, कवि पुरुषोत्तम आचार्य लगायकाको उपस्थिति रहेको थियो । कार्यक्रम प्राध्यापक तथा मञ्चका सचिव निवन्ध लामाले संचालन गरेका थिए ।