ग्रहणको समयमा नगर्नुस् सेक्स

गुगलपाटी संवाददाता
११ श्रावण २०७५ १५:५५

चन्द्र ग्रहण लाग्न अब केही समय बाँकी छ । यो पूर्ण चन्द्र ग्रहण हो । ग्रहण राती १२ सुरु हुनेछ । जसको अवधि ३ घण्टा ४९ मिनेट रहने छ । यो ग्रहणमा सुतक परेको छ । चन्द्र ग्रहणमा ९ घण्टा अघिदेखि खानु हुँदैन । राती २ बजेर ५४ मिनेटसम्म सुतक काल रहनेछ ।

ग्रहण लागेको बेला चन्द्र र सूर्य कमजोर हुन्छन् । हरेक कार्य गर्नको लागि आत्मविश्वास बलियो हुनुपर्दछ । ज्योतिषशास्त्रमा सूर्य आत्मा र चन्द्रमा मनसँग सम्वन्ध राख्ने कुरा वर्णन गरेको पाइन्छ । तसर्थ यो समयमा आत्मविश्वास प्रदान गर्ने ग्रहहरु कमजोर हुँदा काममा बाधा पुग्छ भन्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ ।

धार्मिक मान्यता अनुसार सुतक कालमा विवाह वा अन्य शुभ कार्य गर्नु हुँदैन । यस्तो समयमा शारिरीक सम्बन्ध पनि राख्न नहुने धार्मिक मान्यता छ ।

ज्योतिषशास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ , जस्तैः कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, ब्रश गर्नु, गाइभैँसी दुहुनु, भोजन गर्नु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु, रुख काट्नु आदि जस्ता कार्य ग्रहणको समयमा गर्नु हुँदैन । गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने शास्त्रमा उल्लेख छ । वैज्ञानिक अनुसन्धान अनुसार पनि ग्रहणको समयमा वातावरणमा नकारात्मक उर्जा प्रवाह हुन्छ । जसका कारण नराम्रा किटाणुहरुको संख्या धेरै बढ्छ । त्यसकारण भोजन नगरी बस्न सक्नेहरुले ग्रहणको समयमा भोजन नगर्नु नै राम्रो हुन्छ । ग्रहणको समय अगाडि नै पाकेका सामाग्रीहरुमा तुलसी पत्र र कुश राख्नाले ग्रहणको समयमा निस्किने किटाणुहरुको प्रभाव निकै कम पर्दछ ।

ग्रहणको समय समाप्त भएपछि चोखा पानी छर्किएपछि मात्रै शुभ कार्य गर्दा राम्रो हुनेछ । ज्योतिष गुरू पराशरका अनुसार यो ग्रहण खतरामध्ये पर्छ । यस्तो बेलामा शारिरीक सम्बन्ध राख्नु हुँदैन । यदी शारीरिक सम्बन्ध राखेर गर्भ रह्यो भने त्यसबाट जन्मिएको बच्चा कुनै न कुनै कारणले कमजोर हुने र अशान्ति ल्याउने खालको हुनेछ । ‘यो ग्रहणमा सुतक पनि परेका छन्,’ उनले भने, ‘यसलाई झन् कठोर मान्न सकिन्छ, त्यसैले यस्तो बेलामा कुनै शुभ कार्य वा खानेपिउने काम गर्नुहुन्न ।’ उनका अनुसार सुतक काल निकै अशुभ समय हो । यो समयमा गरेका हरेक कार्य अशुभ हुने धार्मिक मान्यता छ ।

के के गर्नुहुन्न सुतक समयमा
१. भोजन गर्न हुन्न ।
२. सकेसम्म पानी पनि पिउनु हुन्न ।
३. ग्रहण अघि भरेको पानी पिउँदा तुलसीको पत्ता हालेर पिउनुपर्छ ।
४. ग्रहण सकिएपछि पिउने पानी बदल्नुपर्छ ।
५. बैज्ञानिक मान्यता अनुसार यस्तो समयमा खानेकुरा वा वासी पानी पिउँदा पाचन शक्ति विग्रने र रोग लाग्न सक्ने मान्यता छ ।
६. चन्द्र ग्रहणको समय गर्भवती महिला ग्रहणमा देखा पर्नु हुन्न ।
७. ग्रहणको समय पुजाआज गर्न हुँदैन ।
८. शारिरीक सम्बन्ध राखी गर्भ रहनुहुन्न ।