नक्कली आमा बनाएर छोराले जग्गा बिक्री गरेपछि (भिडियो)
गुगलपाटी संवाददाता हेटौंडा,१२ साउनपूर्वी मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेकी जानुका खड्का शुक्रबार दिउँसो मालपोत कार्यालय मकवानपुरमा बेहोस् भईन् । भूकम्प पीडित उनी नयाँ घर बनाउन सरकारले दिने अनुदान रकमको लागि नयाँ लालपूर्जा लिन मालपोत कार्यालय पुग्दा आफ्नो नाममा रहेको जग्गा बिक्री भइसकेको थाहा पाईन् ।
नातीको सहारामा बस्दै आएका उनले आफ्नो नाममा रहेको नौ कट्ठा नौ धुर जग्गा गत असार ६ गते नै हेटौंडा ४ स्थित सानुमाया मानन्धरको नाममा बिक्री भइसकेको लिखत देखे । गाउँकै एक महिलालाई कान्छा छोरा नारायण खड्काले नक्कली आमा बनाएर मानन्धरलाई जग्गा बिक्री गरेको मालपोत कार्यालयको लिखत हेरेपछि उनले आफुलाई सम्हाल्न सकिनन् ।
आफ्नो भागको अंश लिएर छुट्टै बस्दै आएका कान्छा छोरा नारायणले २९ लाख रुपैयाँ थैली कायम गरी जम्मा दश लाख रुपैयाँमा मानन्धरलाई जग्गा बिक्री गरेको मालपोत कार्यालयको तथ्याङ्क छ । ‘बैंकमा काम छ भन्दै छोराले मेरो नागरिकता र लालपूर्जा लिएर गएको थियो तर मैले जग्गा नै बेच्देला भन्ने सोचिन’, जमुनाले भनिन्, ‘आफ्नै छोराले टुहुरा नाती र मलाई सडकमा ल्यायो ।’ जेठा छोराको मृत्युपछि ठेजी बुहारी रोजगारीको लागि दुबई गएकी छन् । उनी नातीसँग बस्दै आएका छन् ।
बकैया गाउँपालिका तीन नम्बर वडा सदस्य लालबहादुर खड्काले जग्गा बिक्री भएको थाहा पाएपछि जमुनालाई खबर गरेका थिए । ‘तीन दिन अघि मानन्धर चौहदी सिफारिसको लागि वडा कार्यालयमा आएपछि मैलै जग्गा बिक्री भइसकेको थाहा पाएँ’, उनले भने, ‘उनलाई सिफारिस नदिएर मालपोतमा बुझ्दा जग्गा बिक्री भइसकेको रहेछ ।’
सम्बन्धित वडा कार्यालयको सिफारिसको आधारमा मात्र जग्गा खरिद बिक्री हुने गरेको छ । तीन नम्बर वडा अध्यक्ष दिल बहादुर बोम्जन लामाले भने, ‘आमा बिरामी छ,सिफारिस दिनु भन्दै छोरा आएपछि हामीले नदिने कुरा भएन । तर छोराले बेइमानी गरेछ ।’
प्रमुख मालपोत अधिकृत मुक्तीनारायण भण्डारीले ४० वर्ष अघि बनेको नागरिकताको फोटो र हालको फोटो छुट्याउन समस्या भएकाले ब्यक्ति पहिचानमा समस्या भएको बताए । ‘हामीले शंका लागेर छोरा साक्षि राखेर नै जग्गा नामसारी गरिदिएका थियौं तर अर्कै ब्यक्तिले आफ्नो जग्गा दाबी गरेपछि हामी पनि छानबिन गरिरहेका छौं’,उनले भने ।
शुक्रबारै जिल्ला मालपोत कार्यालयमा बोलाइएका जमुनाका छोरा नारायण र जग्गा खरिदकर्ता मानन्धरलाई प्रहरीले प्रहरीले पक्राउ गरेको छ । ‘हामीले शान्ति सुरक्षामा खलल पुग्नेगरी बिवाद गरेपछि उनीहरुलाई पक्राउ गरेका हौं’,वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले भने, ‘अन्य विषय सम्बन्धित निकायले हेर्ला ।’
किर्ते गरी आफ्नै छोराले जग्गा बिक्री गरेपछि जिल्ला अदालत मकवानपुरमा मुद्धा दायर गर्न प्रक्रिया अघि बढाएको जमुनाले बताईन् ।