जब सिक्री नै निलेपछि………………

गुगलपाटी संवाददाता विराटनगर
१२ श्रावण २०७५ १५:५२

विराटनगरको जलजला चोकमा रहेको राठी सुनचाँदी पसलमा शुक्रबार साँझ सुनसरीको इटहरी उपमहानगरपालिका २ का ३१ वर्षीय सुजन नेपाल सुनको सिक्री किन्न भन्दै पुगे।

अरुणकुमार राठीले संचालन गरेको सुनचाँदी पसलमा पुगेर उनले सवा तोलाको सुनको सिक्री मागे। राठीले सुनको सिक्री दिएपछि ‘चेन्जिङ रुम’मा छिरेर सिक्री लगाएर बाहिर निस्किए। तत्काल आफूसँग पैसा नभएको भन्दै पछि आएर किन्ने भनेर सिक्री फिर्ता दिए। तर नेपालले फिर्ता दिएको सिक्री नक्कली भएको पसल संचालकले थाहा पाए।

त्यसपछि पसल संचालकले आफूले दिएको सक्कली सिक्री फिर्ता गर्न बारम्बार आग्रह गरे। उनले आफूलाई दिएको सिक्री त्यही नै भएको भन्दै जिद्धी गरिरहे। शरीरका सबै ठाउँमा खानतलासी गर्दा पनि सिक्री फेला परेन। पछि पसलले प्रहरीलाई खवर गर्‍यो। प्रहरीले नेपाललाई पक्राउ गरेर विराटनगरको कोसी अञ्चल अस्पताल पु¥यायो। वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक प्रमोद कुर्मीका अनुसार अस्पतालमा लगेर एक्सरे गर्दा नेपालको पेट भित्र सुनको सिक्री रहेको पुष्टि भयो।

‘पेटको एक्सरे गर्दा सुनको सक्कली सिक्री निलेर आफूसँग भएको नक्कली सिक्री पसल संचालकलाई फिर्ता गरेको पुष्टि भयो,’ कुर्मीले भने, ‘त्यसपछि प्रहरी निगरानीमा नेपाललाई अस्पतालमै राखिएको छ।’