निलेको तीन दिनपछि दिसामा भेटियो सुनको सिक्री

गुगलपाटी संवाददाता सुनसरी
१४ श्रावण २०७५ १२:३४

सुनसरीको इटहरी उपमहानगरपालिका २ का ३१ वर्षीय सुजन नेपालले निलेको सवा तोला सुनको सिक्री तीन दिनपछि बाहिर निस्किएको छ। अस्पतालमा एक्सरे गर्दा उनको पेटमा देखिएको सिक्री सोमबार बिहान ११ बजेतिर बाहिर निस्किएको हो। दिसा गर्ने क्रममा सिक्री बाहिर निस्किएको प्रहरीले जनाएको छ।

गत शुक्रबार साँझ विराटनगर ९ जलजला चोकस्थित राठी सुनचाँदी पसलमा सिक्री किन्न भनेर गएका नेपालले पसल संचालकले दिएको उक्त सिक्री निलेर आफूसँग रहेको नक्कली सिक्री फिर्ता दिएका थिए।

तत्काल पैसा नभएको र पछि आएर किन्ने भन्दै उनले सक्‍कली सिक्री निलेर पसल संचालकलाई नक्‍कली सिक्री फिर्ता दिएको खुलेको थियो। फिर्ता दिएको सिक्री नक्‍कली भएको थाहा पाएर पसल संचालकले प्रहरीलाई खबर गरेपछि प्रहरीले अस्पतालमा लगेर नेपालको पेटको एक्सरे गराएको थियो।

एक्सरेपछि सक्‍कली सिक्री नेपालको पेटभित्रै रहेको पुष्टि भएको थियो। पेटभित्र रहेको सिक्री निकाल्नका लागि उनलाई विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा प्रहरी र चिकित्सकको निगरानीमा राखेर चाँडो चाँडो दिसा लगाउने ल्याक्टोलोज नामक औषधि दिइएको थियो।

उक्त औषधि खाइसकेपछि सोमाबार बिहानसम्ममा नेपालले चौथो पटक दिसा गरेका थिए। चौथो पटक दिशा गर्दा दिसाका माध्यमबाट सिक्री बाहिर निस्किएको अस्पतालका चिकित्सक पुरनचन साहले बताए।ुचौथो पटक पनि दिसाका माध्यमबाट सिक्री बाहिर ननिस्किए अरु उपाय लगाउने तयारी गरिएको थियो, ुडा.साहले भने नभए पेटको शल्यक्रिया नै गर्नुको विकल्प थिएन।ु

उनले चौथो पटकमै दिसासँगै सिक्री बाहिर निस्किएका कारण शल्यक्रिया गर्नुपर्ने अवस्थासम्म भने पुग्न नपरेको जानकारी दिए।नेपालको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकले बताएका छन्।