हेटौंडा काठमाडौं सडकखण्ड : पटकपटक अवरुद्ध हुँदा यात्रु मारमा

गुगलपाटी संवाददाता मकवानपुर,१६ साउन
१६ श्रावण २०७५ १०:४६

प्रदेश नम्बर तीनको अस्थायी मुकाम हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको सडकखण्ड हेटौंडा काठमाडौं अन्तरगतको हेटौंडा फाखेल र हेटौंडा सिस्नेरी सडकखण्ड पटक पटक अवरुद्ध हुँदा यात्रुहरु मारमा पर्ने गरेका छन् ।

छोटो बाटो भएपनि सामान्य बर्षाका समयमा समेत बाटो अवरुद्ध हुँने गरेपछि यो सडक भएर संचालनमा आउने सवारी साधन मारमा पर्ने गरेका हुन् । खासगरी यो सडकखण्ड भएर टाटसुमो बढी संचालनमा आउने गर्दछन् । यसैबीच गत राति परेको वर्षाले हेटौँडा कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक आएको पहिरोलाई हटाई बुधबार दिउँसोबाट हेटौँडा काठमाडौँतर्फको यातायात सेवा सञ्चालनमा आएको छ ।

यसैगरी इन्द्रसरोवर गाउँपालिका–५ सुकौरा ड्याममा आएको पहिरोलाई पनि हटाई सिस्नेरी काठमाडौँतर्फ यातायात सेवा पनि सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बर्षाका कारण बेला बेलाका सो सडकखण्डहरु अवरुद्ध हुँदा यात्रुहरु भने मारमा पर्ने गरेका छन्। यो सँगै साउनमा मात्रै यी दुई सडकखण्ड चार पटक अवरुद्ध हुँदै खुल्दै गरेका छन् । यी सडक अवरुद्ध हुँदा यात्रुले कम्तीमा चार र बढीमा ७ घण्टासम्म कुर्नु परेको छ ।