जिम्बाबेमा तनाब
गुगलपाटी संवाददाता हरारेजिम्बाबेको राजधानी हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीले ढुंगामुढा र सवारीसाधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र अश्रुग्याँस प्रहार गरेका छन् । सेना र प्रहरीको हस्तक्षेपबाट कम्तीमा तीनजनाको मृत्यु भएको छ ।
सत्तारुढ दल जानु–पीएफका संस्थापक नेता एवं पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकाल समाप्त भएसँगै पहिलोपटक सम्पन्न चुनावबाट मुलुक नयाँ मार्गमा प्रवेश गर्ने अपेक्षामा बसेका आमजनता निराश बनेका छन् । संसद्को चुनावमा सत्तारुढ जानु–पीएफ पार्टीले बहुसंख्यक स्थान जितेको घोषणालगत्तै हरारेका मुख्य स्थानमा हिंसात्मक झडप भएका थिए । विपक्षी दलसँग आबद्ध व्यक्तिहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।
जिम्बाबेको निर्वाचन आयोगले कम्तीमा बिहीबारसम्म राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक नगर्ने जनाएको छ । वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वालाई नै विजयी घोषणा गरिए विपक्षीहरूले विरोध प्रदर्शनलाई थप सशक्त बनाउने देखिएको छ । वर्तमान सत्तारुढ दल र सैनिक नेतृत्वले विपक्षी नेता नेल्सन चामिसालाई विजयी हुनबाट रोक्ने प्रयत्न गर्नेछन् । गत सोमबार शान्तिपूर्वक मतदानमा भाग लिएका लाखौं जिम्बाबेलीले ४८ घण्टा नबित्दै मुख्य सडकहरू छिचोल्दै सैनिक ट्यांक दौडेको अनौठो दृश्य हेर्नु परेको छ । सैनिकहरूले मुख्य सडकमा भेला भएका प्रदर्शनकारीमाथि अन्धाधुन्ध कुृटपिट गरेका छन् । केही पत्रकार समेतमाथि कुटपिट भएको छ ।
बुधबार अपराह्न सत्तारुढ पार्टीको मुख्यालय वरपरसहित हरारेका मुख्य शहरी इलाकामा गोली चलेको आवाज सुनिएको थियो । राज्य नियन्त्रित टेलिभिजन जेडबिसीका अनुसार गोली लागेर तीनजनाको मृत्यु भएको छ । ‘अहिले त परिस्थिति बिल्कुलै भिन्न छ’, ३१ वर्षीया खुद्रा व्यापारी एलिसा पीगुले भनिन्, ‘सोमबार मानिसहरू ज्यादै खुशी थिए आज उनीहरू निराश छन् । यहाँ कहिले शान्ति आउला ? ’
अधिकारीहरूले जिम्बाबेको सार्वजनिक सुरक्षा कानुन पुनः ब्यूँताएका छन् । यसले मानिसलाई भेला हुन वा सार्वजनिक कार्यक्रम गर्नबाट रोक लगाउँछ । प्रहरीले काबुबाहिर परिस्थिति सिर्जना भए सैनिकलाई आमन्त्रण गर्न पाउँछ । मुगाबेको शासनकालमा सन् २००२ देखि सरकारविरोधी भेला र प्रदर्शन रोक्न यही कानुन बारम्बार प्रयोग गरिन्थ्यो । राष्ट्रपति मान्गाग्वाले हिंसा भड्किनुमा विपक्षी दोषी रहेको आरोप लगाएका छन् । उनले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्नेतर्फ हिंसात्मक गतिविधि गरिएको बताए । विपक्षीहरूले भने सुरक्षा निकायले निहत्था जनतामाथि जथाभावी र अन्यायपूर्वक कारबाही गरेको जनाएका छन् । शान्तिपूर्वक प्रदर्शनलाई हिंसात्मक बनाउन सैनिक परिचालन गरिएको उनीहरूको आरोप छ । ‘के हामी युद्धको स्थितिमा छौं ? के नागरिक राज्यका दुश्मन हुन् ? ’, मुख्य विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्जकाका प्रवक्ता नुलुलेको सिबान्दाले प्रश्न गरे ।