थारु समुदायमा यस्तो परम्परा, छोरा भित्र्याएर बुहारीको बिहे !

गुगलपाटी संवाददाता
१९ श्रावण २०७५ ०१:४०

कन्चनपुर वेदकोट १० कि रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो ।आम्दानीको स्रोत नभएकाले खान लाउन धौधौ हुन थाल्यो । बुढ्यौलीले छोएपछि सासु ससुरा पनि सहारा दिने अवस्थामा थिएनन् । व्यवहारिक समस्याले घेरिएकै बेला रिनालाई आफ्नै समुदायको एउटा परम्परा सहारा बनिदियो ।

डगौरा थारु समुदायको भोरुवा राख्ने परम्पराले रिनालाई पुनर्जीवन दिएको हो । उनको परिवारले जिल्लाकै शुक्लाफाँटा नगरपालिकाको नौखुरी शिविरका फूलरामलाई दुलही झै घरमा भित्र्यायो । फूलरामलाई छोरा बनाएर रिनाको बिवाह गरिदिए । ससुरा लक्ष्मणले पछिल्ला दिनमा हराउँदै गएको परम्परा बुहारीको लागि अघि बढाए । ‘यो परम्पराले मेरा टुहुरा नातीले बुबा मात्रै पाएनन्, मैले छोरा पनि पाएँ’ रिनाकी सासु पार्वतीले भनिन् । ‘अहिले घरमा कमाउने र खेतीको काम गर्ने जिम्मा उसैको काँधमा छ ।’

कलुराम बितेपछि बुबा लक्ष्मणले नौखुरीबाट फूलरामलाई ल्याएर परम्पराअनुसार छोरा बनाए ।बुहारीसँग विवाह गरिदिए । जवान बुहारीलाई एकल राख्नु हुँदैन भनेर छोरा बनाएर विवाह गराएको पार्वतीले बताइन् । छोराको मृत्युपछि बुहारीलाई एकल हुन नदिन डगौरा थारु समुदायमा छोरा भित्र्याउने चलन रहेको छ । यसलाई भोरुवा राख्ने चलन भनिन्छ । आजको कान्तिपुर दैनिकमा कन्चनपुरबाट भवानी भट्टको समाचार छापिएको छ ।