इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तिमा ८३ को मृत्यु

एएफपी जाकार्ता, इन्डोनेसिया, साउन २०
२१ श्रावण २०७५ ०२:४८

इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा ८३ जनाको ज्यान गएको छ।

अमेरिकी भूगर्व विभाग (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु लोम्बकको सतहबाट १० किलोमिटर गहिराइ छ।

एक साता पहिले भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो।

इन्डोनेसियाली अधिकारीहरूले भूकम्पपछि लोक्बक र वरपरका क्षेत्रमा सुनामी आउने चेतावनी दिँदै नागरिकहरूलाई सामूद्रिक क्षेत्रबाट टाढा रहन आग्रह गरेका थिए। तर पछि उनीहरूले उक्त निर्णय फिर्ता लिएका छन्।

विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार सयौँ मानिस घाइते भएका छन्। भूकम्पकाबाट सयौँ भवनमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति बन्द भएको छ।

इन्डोनेशियाको विपद् न्यूनीकरण निकायका एकजना प्रवक्ताले लोम्बोक टापुको प्रमुख नगर माताराममा थुप्रै घरहरूमा क्षति पुगेको समाचार संस्था एएफपीलाई बताए।

उनका अनुसार क्षति पुगेकामध्ये अधिकांश कमसल निर्माण सामग्रीबाट बनेका घरहरू छन्।

मातारामका बासिन्दाले एउटा शक्तिशाली झट्का महसुस गरेपछि मानिसहरू घरबाट भाग्न थालेको बताएका छन्।

छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ।