मकवानपुरमा हनुमानको नाममा ठग्दै नक्कली साधु

गुगलपाटी संवाददाता हेटौंडा
२१ श्रावण २०७५ ०३:१०

हेटौंडा वडा नम्बर १० स्थित गोरक्षेश्वर महादेव मन्दिरको परिसरमा नेपालकै सम्भवतः अग्लो हनुमानको प्रतीमा बनाउने कार्य जारी छ ।

स्थानीयस्तरबाट ५२ फिट अग्लो हनुमानको प्रतीमा निर्माण जारी रहेको बेला आफूलाई भारतीय श्री श्री श्री १०८ साधु बताउने भारत हरियानाका शेरानाथ बाबाले आफूले हेटौंडामा हनुमानको प्रतीमा बनाउन लागेको भन्दै जताततै चन्दा माग्न थालेका हुन् । शेरानाथले आफूलाई सिद्धबाबा भन्दै परिचय दिने गरेका छन् । उनले बोकेको भारतीय परिचयपत्रमा उनको नाम शेरसिंह उल्लेख छ ।

उनको यस्तो गतिविधिप्रति सचेत भएर उनलाई चन्दा नदिन प्रतीमा निर्माणकर्ता श्रीरामभक्त हनुमान सेवा समिति हेटौंडाले आग्रह गरेको छ । निज शेरानाथ बाबा नाम बताउने साधुको समितिसँग कुनै सम्बन्ध नरहेको र उनले ठगी गर्दै हिँडेको समितिले एक अपिल जारी गर्दै भनेको छ ।

समिति सचिव यज्ञप्रसाद कँडेलका अनुसार ती बाबाले बीरगञ्जका व्यापारिक घरानासँग ठूलो रकम उठाएर भारतीय बैंकमा रहेको आफ्नो खातामा जम्मा गरेका छन् । हेटौंडाका केही व्यापारीले पनि उनलाई करिब १ लाख भारतीय रुपियाँ दिइसकेका छन् ।

पैसा कुम्ल्याएर उनी भारत गएका छन् । बेलाबेलामा भारतबाट बीरगञ्ज र हेटौंडा आएर ती बाबाले पैसा उठाई बैंकको आफ्नो व्यक्तिगत खातामा जम्मा गर्ने गरेका छन् । हनुमानको नाममा संकलित रकम उनले एक रुपियाँ पनि निर्माणकर्ता समितिलाई दिएका छैनन् ।

गोरक्षेश्वर क्षेत्र र भुटनदेवी सामुदायिक बन क्षेत्रमा २० वर्गमिटर क्षेत्र ओगटेर हनुमान प्रतीमा निर्माण थालिएको हो । हेटौंडा नगरपालिकालगायत अन्य निकाय तथा व्यक्तिगत गरी करिब २ करोड लगानीमा निर्माण गरिने प्रतीमाका निम्ति १२ फिट गहिराइको जग खनिएको छ ।

बीरगञ्जका कालीगढ रंगलाल पण्डितले निर्माण गर्ने प्रतीमाले हेटौंडाको धार्मिक गौरव अन्तर्राष्ट्रियजगत्मा चिनाउने रामभक्त हनुमान सेवा समिति सचिव कँडेलले बताउनुभयो ।
वैदिक सनातन धर्म र सँस्कृतिको रक्षा तथा हेटौंडालाई देशमै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्धेश्यसाथ हेटौंडामा प्रतीमा निर्माण थालिएको छ ।

मकवानपुरमा घर भएर कतारमा कार्यरत् नेपालीले मकवानपुरे मिलन केन्द्र दोहा, कतारमार्फत् प्रतीमाका लागि ५१ हजार रुपियाँ उपलब्ध गराएका छन् । सिमेन्टबाट निर्माण गरिने मूर्तिमा अत्याधुनिक प्रविधि जडान गरिनेछ । राति पूर्णरुपमा उज्यालो देखिने मूर्तिले नै हनुमान चालीसा पाठ गर्ने प्रविधि जडान गरिने छ ।

मूर्तिका लागि क्षेत्र छुट्याउन जिल्ला बनले इलाका बन कार्यालय रातोमाटेलाई पत्र लेखेपछि स्थानाभावमा अल्झिएको हनुमानको मूर्ति स्थापना हुने करिब टुंगो लागेको हो । उक्त स्थानमा मूर्ति स्थापनाका लागि जग खन्ने क्रममा जिल्ला बनले अवरोध सिर्जना गरेपछि मूर्ति स्थापनामा जुटेकाहरुले विरोध जनाएका थिए । जिल्ला बनले गोरक्षेश्वर धार्मिक बन क्षेत्र पूर्वपश्चिम राजमार्गको सडक सिमाना कटाई क्षेत्र छुट्याउन इलाका बनलाई आदेश दिएको थियो ।

स्थानीय प्रशासनको समन्वयमा श्रीरामभक्त हुनमान सेवा समिति मकवानपुरले त्यहाँ मूर्ति राख्ने भएको हो । गोरक्षेश्वर परिसरमा धार्मिक बनका निम्ति करिब दुई बिगाह जग्गा छुट्याइएको छ । २०६७ असार २२ गते गोरक्षेश्वरलाई हस्तान्तरित एक दशमलव तीन हेक्टर जग्गामा हनुमानको मूर्ति निर्माण कार्य जारी छ ।
आजको नेपाल समाचारपत्रमा खबर छ ।