प्रदेशस्तरमा पहिलोपटक आदिवासी दिवस मनाईदै

गुगल पाटी मकवानपुर, साउन २१
२१ श्रावण २०७५ १२:२६

२४ औं विश्व आदिवासी दिवस प्रदेश नम्बर तीनको राजधानी हेटौंडामा बिबिध कार्यक्रम गरि मनाईने भएको छ । प्रदेश ३ को राजधानी हेटौंडासँगै जिल्ला सदरमुकामहरुमा बिशेष कार्यक्रम गरि दिवस मनाउन लागिएको सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघका प्रदेश ३ (नेवाःताम्सालिङ)ले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै तीन दिने कार्यक्रम सार्वजनिक गरेको छ । महासंघका प्रदेश संयोजक काजीमान थिङले दिवस अन्तरगत मंगलबार आदिवासी जनजाति महासंघ प्रदेश ३ को समन्वयमा नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुरले प्रदेशलाई नेवाः ताम्सालिङ नामकरणको माग गर्दै र्यालीसहित हेटौंडामा कोणसभा गर्ने बताए । दिवसकै अवसरमा बुधबार आदिवासी जनजातिका विभिन्न माग राखी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने र आदिवासी जनजातिका साँस्कृतिक झाँकीसहित र्याली गर्दै पल्पसा हलमा साँस्कृतिक समारोह गरिने उनले बताए ।
‘सम्बृद्धिका लागि बहुसंख्यक आदिवासी जनजातिको विकास मूलप्रवाहीकरण र सशक्तिकरण बिना प्रदेश ३ को सम्बृद्धि सम्भव छैन,’ उनले भने, ‘आदिवासी जनजातिको मूलप्रवाहीकरण र सम्वृद्धिको गुरूयोजना तयार गर्न, प्रदेश ३ लाई नेवाःताम्सालिङ नामकरण गरी संविधान अनुसार नेवारी र तामाङ भाषालाई प्रदेश ३ को सरकारी कामकाजको भाषा तोक्न माग गर्दछौं ।’ संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकोले राष्ट्रसंघले घोषणा गरेको आदिवासी दिवसलाई प्रदेश सरकारले मनाउने व्यवस्था गर्नुपर्ने भन्दै उनले दिवसका दिन सार्वजानिक विदा दिन साथै अन्तर्राष्ट्रिय मातृभाषा दिवस, बुद्धजयन्ती जस्ता दिवसहरुलाई प्रदेश सरकारको तहबाट मनाउने व्यवस्था गर्न लगायतको विविध माग सहित प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाईने बताए ।
आदिवासी जनजाति महासंघ मकवानपुरको व्यवस्थापनमा दिवसका दिन आयोजना गरिने साँस्कृतिक समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, आदिवासी जनजातिका अभियन्ताहरुले सम्बोधन गर्ने र विभिन्न जातिय समुदायको साँस्कृतिक प्रस्तुती र झाँकीहरु प्रस्तुत गरिने आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तीर्थबहादुर थापा मगरले बताए । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ संघका केन्दीय सदस्य सुनिल मोक्तान,जिल्ला अध्यक्ष लिला कुमार घलान,नेपाल मगर संघका जिल्ला अध्यक्ष शंकर थापा मगर,थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष हरिलाल थारु लगायतको उपस्थिती रहेको थियो ।