हेटौंडा–काठमाडौंको दुवै छोटोमार्गमा पहिरोको अवरोध, सडक खुलाउन समय लाग्ने

गुगलपाटी संवाददाता
२२ श्रावण २०७५ ०२:३०

गएराती पहिरो खसेपछि हेटौंडा–काठमाडौं छोटो मार्ग अवरुद्ध भएको छ । हेटौंडाबाट सिस्नेरी हुँदै दक्षिणकाली सडक र फाखेल हुमानेभन्ज्याङ हुँदै काठमाडौं जाने दुवै मार्गमा पहिरोले अवरोध गरेपछि हेटौंडा–काठमाडौंको छोटोमार्गमा सवारी आवागमनमा समस्या भएको हो ।

गएराती इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी पहिरो गएपछि हेटौंडा–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक अवरुद्ध भएको हो भने । इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मीमा पहिरो खस्दा हेटौंडा–फाखेल–काठमाडौं सडक पनि अवरुद्ध भएको हो ।

फाखेल सडक सोमबार बेलुकी साढे ६ बजेदेखि नै अवरुद्ध भएको थियो । सो सडकमा भने एक्साभेटर लगाएर खुलाउने प्रयास भइरहेको र करिब १० बजेसम्ममा सडक खुलाइसकिने लक्ष्य राखिएको प्रहरीले जनाएको छ । यता सिस्नेरी सडकखण्डमा भने पहिरो पन्छाउने काम नै सुरु भएको छैन । एक्साभेटर नजिक नभएकाले बिहान ११ बजेपछि मात्र पहिरो पन्छाउने काम सुरु हुने जनाइएको छ