चितवनमा बस र ट्रक ठोक्कँदा ४ जनाको मृत्यु, १७ जना घाइते

गुगलपाटी संवाददाता चितवन, २३ साउन
२३ श्रावण २०७५ ०१:५७

पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१०, भानुचोकमा गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् ।

पूर्वबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौँबाट काँकडभिट्टाको लागि छुटेको मकालु यातायातको ना ६ ख १७४१ नंम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मृतक चारै जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ । इँटा बोकेर फर्किँदै गरेको ट्रक बससँग ठोक्किएको थियो ।