विद्यालय पुनर्निर्माणको प्रस्ताव पेश गर्न आह्वान

गुगलपाटी संवाददाता हेटौंडा, २३ साउन
२३ श्रावण २०७५ ०२:१७

जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले भूकम्पबाट क्षति भएको मकवानपुर जिल्लाका सामुदायिक विद्यालयहरुलाई पुनर्निर्माणको प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ ।

२, ३ र ४ कोठे भवन निर्माणका लागि प्राप्त कार्यक्रमअनुसार सार्वजनिक विद्यालयहरुलाई पुनर्निर्माणको प्रस्ताव आह्वान गरिएको हो । विद्यालय पुनर्निर्माण कार्यविधि २०७३ अनुसार मापदण्ड पूरा गरी प्रस्ताव माग गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख प्रेम केसीले जानकारी दिए ।

भदौ १५ गतेसम्म प्रस्ताव पेश गर्न आग्रह गरिएको छ । प्रस्ताव पेश गर्दा विद्यालय पुनर्निर्माण कार्यविधि २०७३को अनुसूची १ बमोजिमको ढाँचामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकद्वारा प्रमाणित गरिएको विद्यालय पुनर्निर्माण प्रस्ताव, कार्यक्रम माग गर्नेसम्बन्धी सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय, सम्बन्धित स्थानीय तहको सिफारिस, विद्यालयको भौतिक विकास गुरुयोजना, विद्यालयमा विद्यमान भौतिक संरचनाहरुको तस्बिर र जग्गाको जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा सम्बन्धित स्थानीय तहबाट भोगाधिकार प्राप्त प्रमाणसहित प्रस्ताव पेश गर्न इकाइले आह्वान गरेको छ ।