ओम्याक्समा आगलागीबाट पाँच करोड बढिको क्षति

गुगलपाटी संवाददाता हेटौंडा,२३ साउन
२३ श्रावण २०७५ १२:११

हेटौंडा ४ स्थित ओम्याक्स सिनेमा हलमा आगलागीका कारण पाँच करोड रुपैयाँ बढिको क्षति भएको छ । बुधबार बिहान भएको आगलागीबाट भवन भित्र रहेका सबै सामग्रीहरु जलेर नष्ट हुँदा पाँच करोड रुपैयाँ बढिको क्षति भएको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।
हलभित्र रहेको पर्दा, प्रोजेक्टर, साउण्ड सिस्टम, सिटसहित अन्य सबै सामग्री जलेर नष्ट भएको उनले जानकारी दिए । प्रोजेक्टर रुममा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
हेटौंडामा सिनेमा हल सुरु भएको दुई दशकपछि पहिलो पटक डिजिटल प्रविधि भित्र्याएकोे ओम्याक्स सिनेमा हल आगलागी भएको साढे दुई घण्टाभित्र जलेर बाहिर भाग मात्र बाँकी रहेको थियो । आगो निभाउन हेटौंडा उपमहानगरपालिका र नेपाल आयल निगम अम्लेसगञ्ज डिपोको गरी दुई वटा दमकल प्रयोग गरिएको थियो । आगो निभाउन जनपथ, सशस्त्र प्रहरी, नेपाली सेनासँगै स्थानीय युवाहरु खटिएका थिए ।
हलमा शनिबार बाहेक अन्य दिन बिहानकोे फिल्म शो नचल्ने भएकाले मानविय क्षति नभएको हल ब्यवस्थापनले जनाएको छ । हलमा नेपाली चलचित्र ‘कायरा’ प्रर्दशनरत रहेको थियो ।
नयाँ प्रविधि सहित २०६७ सालमा ओम्याक्स सिनेमा हल छ करोडको लागतमा निर्माण भएको हल सञ्चालक नरेन्द्र महर्जनले बताए । ‘आगलागीबाट हल त पूर्ण जलेर नष्ट भयो नै भवन समेत प्रयोग गर्न नमिल्ने भएको छ’, उनले भने ।
यसैबीच हेटौँडामा रहेको ओम्याक्स सिनेमा हलमा भएको आगलगीप्रति नेपाल चलचित्र संघले दुःख ब्यक्त गरेको छ । संघका अध्यक्ष प्रदिपकुमार उदयले विज्ञप्ती जारी गर्दै हल सञ्चालक तथा नेपाल चलचित्र संघका तृतीय उपाध्यक्ष नरेन्द्र महर्जनलाई दुःखको समयमा आफुहरुले साथ दिने उल्लेख छ ।