२८ वर्षीय बिरामी दमकल, कसरी निभाओस् आगो ?
गुगलपाटी संवाददाता हेटौंडा२०४७ सालमा ल्याइएको हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरिरहेको वारुण यन्त्र आफैं बिरामी परेको छ । नगर र आसपासमा हुने आगलागीका घटनामा दमकल प्राय साक्षी मात्रै रहने गरेको छ ।
सानातिना आगलागीमा हाल प्रयोगमा रहेको दमकलले नियन्त्रणमा लिन सक्ने अवस्था रहे पनि दुई तल्लाभन्दा माथिको घरमा चढ्ने भ¥याङसमेतको अभावले दमकलले प्रभावकारी काम गर्नसक्ने अवस्था छैन । बुधबार हेटौंडाको ओम्याम्स सिनेमा हलमा लागेको आगो नियन्त्रणमा दमकलले प्रभावकारी काम गर्न नसक्दा धेरै क्षति भएको छ । दक्ष अनि प्रयाप्त कर्मचारीको अभाव, आगो नियन्त्रण गर्ने सामाग्रीको अभाव र पुरानो दमकलको कारण ठूला आगलागीका घटनामा हेटौंडामा दमकल सेवा प्रभावकारी हुन सकेको छैन ।
पनि दमकलका आवश्यक कर्मचारी करिब डेढसय उद्योग प्रतिष्ठानका साथ करिब दुई लाखको जनसंख्या रहेको हेटौंडा उपमहानगर क्षेत्रमा जतिबेला पनि ठूला आगलागीका घटना भई करोडौंको क्षति हुनसक्छ तर, लामो समयदेखि दमकलको माग भए पनि पनि नयाँ दमकल आउन सकेको छैन । हेटौंडा औंद्योगिक क्षेत्रको लागि छुट्टै अर्को दमकल राख्ने प्रयास पनि सफल हुन सकेको छैन ।
हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरिरहेको दमकल सेवामा जम्मा ८ जना कर्मचारी रहेका छन् । कोही बिदामा, कोही बिरामी र कोही अफिस व्यवस्थापनमा रहँदा आगलागी भएको ठाउँमा २ देखि ३ जना मात्रै कर्मचारी खटिन सक्छन् । त्यसमा पनि उनीहरु दक्ष छैनन् र आगो नियन्त्रणको लागि आवश्यक प्रयाप्त सामाग्रीसमेत छैन ।
‘२८–३० वर्ष पुरानो दमकल जतिबेला जहाँ पनि घत्रक्क हुन सक्छ, मर्मत गर्नको लागि पनि दक्ष जनशक्ति छैन, सामान पनि सजिलै पाइँदैन ।’ हेटौंडा उपमहानगरपालिका, वारुणयन्त्र शाखाका प्रमुख बालकृष्ण बास्कोटाले भने । वारुणयन्त्र शाखामा हाल दुईतल्लासम्म चढ्न सक्ने भ¥याङ, दुई थान ज्याकेट, बुट र हेलमेट, तेलमा आगो लाग्दा निभाउन प्रयोग गरिने फोमबाहेक अन्य उपकरण छैनन् । कर्मचारीलाई पनि प्रयाप्त तालिम पनि दिइएको छैन । ‘म २०४५ सालदेखि यहाँ काम गरिरहेको छु, ५१ सालमा केही कर्मचारीलाई एकपटक तालिम दिइएको बाहेक अरु कुनै तालिम तथा प्रशिक्षण पाएको छैन, हामीलाई काम गर्न धेरै नै गाह्रो छ ।’ बास्कोटाले भने ।
वारुणयन्त्र शाखामा हाल सुबेदार बास्कोटाको नेतृत्वमा दुईजना चालक, ३ जना हवल्दार, एकजना सिपाही र एकजना कार्यालय सहायक रहेका छन् । चार हजार लिटर क्षमताको वारुणयन्त्र सामान्य मर्मतको लागि समेत दक्ष मिस्त्री नभएको र सामान पनि नपाइने समस्या रहेको छ । ग्यासमा आगो लागेमा निभाउनको लागि प्रयोग हुने अग्नि नियन्त्रण यन्त्र पनि वारुणयन्त्र शाखामा छैन । केही थान राखिएको भए पनि त्यसले अत्यन्तै सानो दूर्घटनामा मात्र काम गर्न सक्ने शाखा प्रमुख बास्कोटाले बताए ।
हेटौंडा उपमहानगरपालिकाले भने यसैवर्ष दमकल खरिद गर्ने तयारी गरेको जनाएको छ । हेटौंडा बजारमा घना बस्ती र उद्योगहरु बढेसँगै एउटा मात्र दमकल भएकाले आगलागी भएको बेलामा छिटो र छरितो सेवा दिन नसकेको भन्दै अर्को दमकल किन्ने तयारीमा जुटेको नगर प्रमुख हरिबहादुर महतको भनाइ छ । यसैबर्ष दमकल खरिद गर्नका लागि एक करोड रुपैयाँ पनि छुट्याइएको महतको भनाइ छ । तीन नम्बर प्रदेश सरकार, उद्योगी व्यवसायीसहितको लगानीमा दमकल किनिने उपमहानगरले जनाएको छ ।
आजको साझाकुरा दैनिकमा समाचार छ ।