नेकपा मकवानपुरको सचिव बन्न माओवादी भित्र दौडधुप

गुगलपाटी संवाददाता हेटौंडा,२७ साउन
२७ श्रावण २०७५ ०३:५७

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्व चयनमा दौडधुप सुरु भएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रले अध्यक्षमा दावी गरेपनि जनप्रतिनिधिले पार्टीको नेतृत्वमा बस्न नपाउने कार्यबिधि बनेपछि सचिवको लागि पार्टीभित्र रस्साकस्सी बढेको हो ।
तत्कालिन एमाले र माओवादी दुबैले अध्यक्ष दावी गरेपनि अध्यक्षका प्रमुख दावेदारहरु जनप्रतिनिधि भएकाले रिङबाट बाहिरिएपछि अन्य नेताहरुबीच प्रतिस्पर्धा बढेको छ । माओवादीभित्र सचिवको लागि आधा दर्जन नेताहरुले आकंक्षा राखेका छन् । माओवादीका सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन, नेता बलराम बल, प्रमिला पुलामी लामा, प्रकाश पाण्डे, आसा नेपाली र विष्णु विष्टले सचिवमा दाबी गरेका छन् । शनिबार भएको जिल्ला सचिवालयको छलफलमा सचिवमा उनीहरुले दाबी गरेको बैठकमा सहभागि एक नेताले बताए ।
तीमध्ये यस अघि नै चर्चा चलेका सञ्चार बिभाग प्रमुख पाख्रिन र नेता बल प्रमुख दावेदार हुन् । पाख्रिन हालसम्म संसदीय र पार्टीभित्र पनि प्रमुख जिम्मेवारी नपाएका युवा नेता हुन् । पूर्वी मकवानपुरबाट राजनीति सुरु गरेका उनले यस अघि प्रदेशसभा निर्वाचनमा पनि मकवानपुर निर्वाचन क्षेत्र १ (क) मा दावी गरेका थिए ।
यता नेता बलराम हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा पराजित नेता हुन् । २०७ सालको स्थानी निर्वाचनमा नेपाली काँग्रेसँगको गठबन्धनमा उपमेयरमा प्रतिस्पर्धा गरेका उनी हार ब्यहोरेसँगै राजनीतिमा कम सक्रिय छन् ।
माओवादी नेतृ पुलामी यस अघि एकिकृत नेकपा माओवादी मकवानपुरकी कोषाध्यक्ष थिईन् । पाण्डे, नेपाली र विष्ट माओवादी भित्रका युवा नेता हुन् ।
सबै नेताहरु पार्टीभित्र आन्तरिक लविङमा लगेको बताइएको छ । तत्कालिन माओवादी मकवानुरका संयोजक प्रेम बहादुर पुलामीले आकांक्षीहरु धेरै भएपनि सहमतिमा नेतृत्व चयन गरिने बताए । ‘हामी छलफलकै क्रममा रहेका छौं, यो महिनाभरी टुङ्गो लगाईसक्ने लक्ष्य छ’, उनले भने ।