जग्गा किन्न किन अनुदान लिनै चाहेनन् भूकम्पपीडितले !

गुगलपाटी संवाददाता हेटौंडा
२९ श्रावण २०७५ ०१:५३

भूमिहीन भूकम्पपीडित लाभग्राहीलाई जग्गा खरिदको लागि सरकारले दुईलाख रुपियाँ अनुदान दिने भने पनि मकवानपुरकाका भूमिहीन लाभग्राहीले भने त्यतातर्फ चासो देखाएका छैनन् । मकवानपुरमा करिब ४ हजार दुई सय लालपूर्जाबिहीन भूकम्पपीडित परिवार भएको अनुमान गरिए पनि असार मसान्तसम्ममा जम्मा ९७ परिवारले मात्र जग्गा खरिदको लागि निवेदन दिएको जिल्ला आयोजना कार्यान्वयन ईकाईले जानकारी दिएको छ ।

सरकारले तोकिएको पूर्वाधार भएको स्थानमा जग्गा महङ्गो भएको र सरकारले दिने दुई लाख रुपियाँले घर बनाउन पुग्ने जग्गा नपाइने भएकाले अनुदानमा अनिच्छा देखाएको हुनसक्ने अनुमान गरिएको जिल्ला आयोजना कार्यान्वयन ईकाई मकवानपुरका प्रमुख सोमराज तिमिल्सनाले बताए । अनुदान पाउनको लागि सडक, बिजुली, ढल, पानीलगायतको पूर्वाधारको पहुँच भएको जग्गा छनौट गरी गाउँपालिकाको सिफारिससहित जिल्ला आयोजना कार्यान्वयन ईकाईमा निवेदन दिनुपर्नेछ । ‘जग्गामा अनुदान लिने कम हुनुको प्रमुख कारण त जग्गा महङ्गो हुनु नै हो, दोस्रो कारण भने उनीहरुले हाल बसोबास गरिरहेको ऐलानी जग्गाबाटै प्रयाप्त लाभ लिन सकिरहेको देखिन्छ ।’ तिमल्सिनाले भने, ‘जग्गाको लालपूर्जा नै नभए पनि आफू बसिरहेको स्थानबाट अन्यत्र सरेर जान रुचि नदेखाएकाले जग्गामा अनुदान माग्ने भूकम्पपीडित कम भएको देखिन्छ ।’

मकवानपुरमा करिब ३१ हजार ८ सय १७ भूकम्पपीडित पहिचान भएकोमा हालसम्म २५ हजार २ सय ८६ जनाले मात्र घर निर्माणको लागि सम्झौता गरेका छन् । सम्झौता हुन बाँकी रहेका करिब ७ हजार परिवार लाभग्राहीमध्ये करिब ४ हजार दुई सय परिवार लालपूर्जाबिहीन रहेको अनुमान गरिएको छ । ‘लालपूर्जा नभएका लाभग्राहीसँग घर बनाउने सम्झौता नै हुँदैन, अहिलेसम्म पनि सम्झौता गर्न नआउने लाभग्राहीमध्ये अधिकांश लाभग्राही लालपूर्जाबिहीन नै हुने हुन् भन्ने हाम्रो निष्कर्ष छ ।’ जिल्ला जिल्ला आयोजना कार्यान्वयन ईकाई प्रमुख तिमल्सिनाले भने ।

जग्गा खरिदको लागि असार मसान्तसम्म प्राप्त ९७ जनाको निवेदनलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन ईकाईमा पठाइएको र त्यहाँबाट निर्णय भएर आएपछि रकम प्रदान गरिने जनाइएको छ । असार दोस्रो साता नै निवेदन केन्द्रमा पठाइए पनि हालसम्म निर्णय भएर नआइसकेको जिल्ला आयोजना कार्यान्वयन ईकाई प्रमुख तिमल्सिनाले बताए ।
आजको साझाकुरा दैनिकमा पहिलो पृष्ठमा समाचार छापिएको छ ।