प्रदेश सरकारको भूमिकाप्रति प्रदेशसभा सदस्यहरु असन्तुष्ट
गुगलपाटी संवाददाता हेटौंडा,२९ साउनतीन नम्बर प्रदेश सरकारको भूमिकाप्रति प्रदेशसभा सदस्यहरु असन्तुष्ट देखिएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा सत्तापक्ष र विपक्षी दुबै तर्फका सांसदले जनतालाई छुनेगरी काम गर्न नसकेको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन् ।
वर्षातको समयमा बाढी पहिरोबाट बिग्रएको बाटो र मृतकका आफन्तलाई राहत र घाइतेको उपचारमा सरकारले कुनै काम नगरेको उनीहरुको गुनासो छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद सरेश नेपालले भूकम्प, बाढी र पहिरोको कारण जनता पीडामा हुँदा पनि सरकारले टुलुटुलु हेरेस बसेको आरोप लगाए ।
विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौडेलले बाढी र पहिरोको घटनामा ज्यान गुमाउनेको परिवारलाई राहत र घाईतेको उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । कांग्रेस सांसद प्रभात तामाङले बाढी पहिरोको घटनामा सरकारले कुनै प्रतिकृया नदेखाएको भन्दै आक्रोस व्यक्त गरे ।
सत्तारुढ सांसद प्रतिमा श्रेष्ठ, आशमाया तामाङ, शान्ती तामाङ लगायत १५ जनाले मंगलबार बोलेका थिए ।
मुख्य न्यायाधिवक्ताको सुविधासम्बन्धी विधेयक पारित
प्रदेश ३ का मुख्य न्यायाधिवक्ताको सुविधासम्बन्धी विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकले मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्बसम्मत पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले विधेयक निर्णयार्थ पेश गरेका थिए । अब प्रदेश तीनका मुख्य न्यायाधिवक्ताको सेवा सुविधा उच्च अदालतका न्यायाधीश सरह हुनेछ ।