डलर हालसम्मकै महँगो
गुगलपाटी संवाददाता काठमाडौंअन्तर्राष्ट्रिय बजारमा माग बढेपछि अमेरिकी डलर हालसम्मकै महँगोे भएको छ। राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलर बराबर एक सय १२ रुपैयाँ २०पैसा बिक्रीदर तोकेको छ। यो दर अहिलेसम्मकै उच्च हो।
अमेरिकी डलर एकै दिनमा एक रुपैयाँ ७७ पैसाले मजबुत बनेको छ। सोमबार एक अमेरिकी डलर बराबर एक १० रुपैयाँ ४३ पैसा विनिमय दर तोकिएको थियो।
अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेपछि यसको असर नेपाली बजारमा पनि देखिएको हो। पछिल्लो समय अमेरिकी अर्थतन्त्र र डलर दुवै मजबुद बन्दै गएका कारण डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए।
२०७४ असारको तुलनामा २०७५ जेठ मसान्तसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ चार दशमलव सात प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकको तथ्यांक छ। नेपाली मुद्रा दुई कारणले अधिमूल्यन र अबमूल्यन हुने गरको छ।
‘अमेरिकी डलरसँग अहिले भएको नेपाली रुपैयाँ अवमूल्यन भारतीय रुपैयाँसँगको स्थिर विनियम दरका कारण नभइ टर्कीको अर्थतन्त्रमा आएको संकटका कारण भएको हो। टर्कीको मूल्यमा भएको अवमूल्यनले समग्र युरोपियन अर्थतन्त्रमा यसको असर देखियो’, ढुंगानाले भने, ‘युरोपियन देशको अर्थतन्त्र र मुद्राको तुलनामा अमेरिकी मुद्रा र अर्थतन्त्र अधिक बलियो बनेको कारण विश्व बजारमा अमेरिकी डलरको माग अत्यधिक बढ्यो।’ अहिले युरो र बेलायती मुद्रा समेत अबमूल्यन भएको छ। यसका असर बैंक र सेयर बजारमा पनि देखिएको छ।
नेपाल र भारतीय मुद्राबीच स्थायी विनिमय दरका कारण भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो। केही दिन अघि भारतीय रिजर्व बैंक (आरबीआई) ले एक डलर बराबर ७० भारु तोकेको छ। डलर मजबुत भएपछि यसको असर आयातित वस्तुको बजार मूल्यमा पर्ने पूर्वअर्थ सचिव शान्तराज सुवेदीले जानकारी दिए। डलरको मूल्य बढ्दा निर्यात व्यापारबाट राम्रो मूल्य आए पनि हाम्रो जस्तो आयात बढी हुने देशमा यसको नकारात्मक असर देखिने उनले बताए।