कर्मचारी र अधिकार माग्दै बित्यो प्रदेश सरकारको ६ महिना, उपमहानगरले घरको नक्सा निशुल्क बनाइदिने

गुगलपाटी संवाददाता
४ भाद्र २०७५ ०१:०६

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेश सरकारको ६ महिनाको कामको मूल्यांकन र हेटौंडा उपमहानगरले घरको नक्सा निशुल्क बनाइदिने घोषणा गरेको प्रशंगलाई प्राथमिकताका साथ छापेका छन् । आजको हेटौंडा सन्देश दैनिकले गोष्ठी र समृद्धिका नारा दिने प्रदेशका मन्त्रीहरुले गोष्ठी र सेमिनारमै रमाएको खबर छापेको छ । ३ नम्बर प्रदेश सरकारको स्थापना भएको ६ महिना बितिसक्दा पनि जनचाहना बमोजिम विकास र समृद्धिको योजना तयार गर्न सकेको छैन । केन्द्रीय सरकारसँग अधिकार, कर्मचारी र स्रोत माग गर्दैमा ६ महिना बित्यो । केबल १४ वटा कानुन निर्माण हुनु र बजेट र नीति तथा कार्यक्रम ल्याएकोमा नै प्रदेश सरकारले आफ्नो ठूलो उपलब्धी ठानेको छ ।
आजको साझाकुरा दैनिकले हेटौंडा उपमहानगरले निशुल्क घर नक्सा बनाइदिने घोषणा गरेको समाचार पहिलो पृष्ठमा छापेको छ । देशभर स्थानीय निकायले चर्को कर लिएको गुनासो बढेको बेला हेटौंडा उपमहानगरपालिकाले भने घर निर्माणको लागि निःशुल्क नक्सा बनाईदिने भएको हो । आईतबार उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरबासीले घर निर्माण गर्नुपरेमा निःशुल्क रुपमा नक्सा बनाइदिने निर्णय गरेको हो । उपमहानगरपालिकामा थपिएका पहिलेका गाबिसका वडालाई लक्षित गरेर निशुल्क रुपमा नक्सा बनाउने निर्णय गरिएको मेयर हरि बहादुर महतले बताए । यो घोषणा एक हजार स्क्वायरफिट सम्मका घर निर्माण गर्नेमा मात्र लागू हुने मेयर महतले बताए । नगरबासीले सामान्य चार कोठाको घर निर्माण गर्नुपर्दा १५ हजार रुपैयाँ सम्म तिरेर नक्सा बनाउनुपर्ने बाध्यता छ ।
आजको समृद्ध समाज दैनिकले पनि निशुल्क नक्सा बनाइदिने उपमहानगरको घोषणालाई नै प्राथमिकताका साथ छापेको छ । साथै ३ वटा पानी उद्योगको उत्पादनमा प्रशासनले रोक लगाएको खबर पनि समृद्धले पहिलो पृठमै छापेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले प्रतिकुल पानी उत्पादन गरेको भन्दै माइ च्वाइस, अक्वा टाइम र अमृत जल पानी उत्पादन र बिक्री बितरणमा रोक लगाएको जनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाको पहिलो पृष्ठ