नेकपाको अध्यक्षमा लम्साल र सचिवमा बिष्ट
गुगलपाटी संवाददाता हेटौंडा,५ भदौनेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को मकवानपुर जिल्लाको नेतृत्व लगभग टुंगिएको छ ।
जिल्ला कार्य समितिको बैठकले नेतृत्वको टुंगो लगाउन नसकेको भएपनि प्रदेश समितिले जिल्लाको नेतृत्व गर्ने नेकपाको नाउँ केन्द्रीय समितिमा सिफारिस गरेको हो । जिल्ला समितिले नेकपाका नेताहरु बद्री लम्साल,एकलाल श्रेष्ठ र श्रीधर पोखरेलको नाउँ सिफारिस गरेकोमा प्रदेश समितिले बद्री लम्सालको नाउँ केन्द्रीय समितिमा सिफारिस गरेको तत्कालिन नेकपा एकालेकी मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देलले गुगलपाटीलाई बताइन् ।
यो सँगै अब नेकपाको जिल्लाको कमाण्ड लम्सालले सम्हाल्ने पक्का भएको छ । उनी तत्कालिन एमालेका जिल्ला नेता थिए । यसरी नै जिल्ला सचिवमा भने तत्कालिन माओवादीका जिल्ला नेता बिष्णु बिष्ट(आर्दश)ले जिम्मा पाउने भएका छन् । सचिवमा बिष्टको नाउँ सिफारिस भएको पनि सिग्देलले बताइन् । नेकपाको केन्द्रीय समितिले भदौ ७ सम्म जिल्ला तहमा एकीकृत नेतृत्व चयन गर्न भनेपछि मकवानपुर जिल्लामा पनि नेतृत्व छानिएको हो । गएको जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएपछि नेकपा पार्टी गठन भएको हो ।