स्थानीय पत्रपत्रिकाः द्रुत गतीमा कानुन बनाउन मुख्यमन्त्रीको निर्देशन, एकीकृत नमूना बस्ती बनाउन सरकार जुट्यो
गुगलपाटी संवाददाताहेटौंडा, हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले द्रुत गतीमा कानुन निर्माण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
कानुन निर्माणको अभावमा भनेजस्तो काम गर्न नसकिएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले केही काम गर्न नसकेको जस्तो देखिएको स्वीकार गरे । मंगलबार मन्त्रालयहरुको कामको अनुगमन गर्ने क्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले ३ नम्बर प्रदेशमा उद्योग वर्ष घोषणा गरिए पनि कानुन अभावमा कार्यान्वयनमा समस्या भएको भन्दै चाँडोभन्दा चाँडो कानुनको मस्यौदा तयार गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । आजको हेटौंडा सन्देश र समृद्ध समाज दैनिकले मुख्यमन्त्रीको निर्देशनसम्बन्त्री समाचारलाई प्रमुख समाचार बनाएर छापेको छ ।
त्यसैगरी आजको साझाकुरा दैनिकले महालक्ष्मी साहित्य पुरस्कार प्रदान गरिने सम्बन्धी समाचारलाई प्रमुखताका साथ छापेको छ । मातृभूमि साहित्य समाज र महालक्ष्मी विकास बैंकको सहकार्यमा हरेक वर्ष प्रदान गर्दै आइएको महालक्ष्मी साहित्य पुरस्कार २०७४ विराटनगरका साहित्यकार प्राज्ञ विवश पोखरेललाई प्रदान गरिने भएको छ । त्यस्तै हेटौंडा–६ चौघडामा रहेको वंशगोपाल माविले जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्न लागेको खबर पनि आजको साझाकुरा दैनिकले प्रथमिकताको साथ छापेको छ ।
हेटौंडा–१८ हटियामा एकीकृत बस्ती निर्माण गर्ने प्रदेश सरकारले घोषणा गरेसँगै त्यसको प्रक्रिया तीव्र गतिमा अघि बढेको छ । जोखिममा रहेका स्तीलाई एकीकृत रुपमा राख्ने गरी प्रदेश सरकारले विशेष महत्वका साथ एकीकृत बस्ती बनाउन लागेको हो । एकीकृत बस्ती निर्माण सम्बन्धमा मंगलबार सरोकारवालासँग प्रदेश सरकारले छलफलसमेत गरेको छ । बस्ती निर्माणको लागि प्रदेश सरकारले २० करोड रुपियाँ छुट्याइसकेको छ । आजको समृद्ध समाजमा खबर छापिएको छ ।
हेर्नुहोस् आजका स्थानीय पत्रिकाको पहिलो पृष्ठ