नेपाली काँग्रेसको बिबिध कार्यक्रम

गुगलपाटी संवाददाता सिस्नेरी, ७ भदौं
७ भाद्र २०७५ १६:०१

काँग्रेस ईन्द्रशरोबर गाउँपालिकास्तरीय क्रियाशिल सदस्यता वितरण तथा प्रशिक्षण कार्यक्रम विहिबार सिस्नेरीमा भएको छ ।

नेपाली कांग्रेस २ क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता, प्रमूख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, विशिष्ट अतिथिहरु पूर्व कृषि राज्यमन्त्री एवं केन्द्रीय सदस्य सरिता प्रसाई, प्रखर वक्ता एवं केन्द्रीय सदस्य गुरु घिमिरेको आतिथ्यतामा क्रियाशिल वितरण गरिएको हो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै प्रमूख अतिथि उपाध्यायले कम्युनिष्टहरु झुटको मात्रै खेति गरिरहेको र यिनीहरुले विकासनिर्माण भन्दा कार्यकर्ता पोष्नलाई मात्रै सरकारमा जाने गरेको विगत ५ महिनाको गतिविधिले देखाएको बताउनुभएको छ ।

यिनीहरु महंगो कर जनताबाट उठाएर आफ्ना नेता कार्यकर्ता पाल्नेबाहेक अन्य काम नगरेकाले यिनीहरुको भविष्य दिगो नरहेको बताउनुभयो ।

त्यस्तै विशिष्ट अतिथि प्रसाईले कांग्रेसले सरकारमा हुंदा गरेका राम्रो कामको प्रचार गर्न नसक्नु र कम्युनिष्टले कांग्रेस सरकारमा हुँदा गरेको राम्रो कामको आफूले गरेको भन्ने र झुठा आश्वासन बाँडेर चुनावमा कांग्रेसले हार व्यहोरेको बताउनुभयो ।

प्रसाईले भन्नुभयो ‘काम गर्ने कांग्रेस, जस लिने कम्युनिष्ट । दुई तिहाईको दम्भ देखाउने कम्युनिष्ट सरकारले ५ महिना वितिसक्दा के गरे ? अझै चुटकिला भनिराछन् प्रधामन्त्री ओली ।’

केन्द्रीय सदस्य प्रसाईले कम्युनिष्टले जनतालाई कहिल्यै धनी बनाउन चाहँदैन र नेताहरु भने ससुराली र श्रीमतीको दाईजो भन्दै अरबौं कुम्ल्याएर बस्छन् । कम्युनिष्ट नेताहरुको ससुराली परिवार कस्तो छन् भन्ने हामीलाई थाहा छैन र १

यस्तै केन्द्रीय सदस्य एवं प्रखरवक्ता गुरु घिमिरेले जनतामा अझै चेतनाको स्तर नहुँदा र हामीले बुझाउन नसक्दा केपी ओलीजस्तो चुटकिला मात्र भन्नुहुनेलाई प्रधानमन्त्री मानेर बस्नुपरेको बताउँदै प्रचण्ड र केपी ओलीलाई कांग्रेसको ईतिहाँस दन्त्य कथा लाग्नु स्वभाविक रहेको बताउनुभयो ।

२०६४ पछि सबैभन्दा बढी सत्तामा रहेको कम्युनिष्ट भएकाले कांग्रेसलाई दोष दिन नमिल्ने बताउँदै केन्द्रीय सदस्य घिमिरेले शिक्षा, स्वास्थ्य, संचार, रोजगारीलगायत विकासको पूर्वाधार निर्माण गर्ने कांग्रेसले मात्रै गरेको र कम्युनिष्ट सपनाको व्यापारी मात्रै भएको बताउनुभयो ।

कार्यक्रममा मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट भनेको कम निष्ठा, कम आस्था र जनताप्रति कम उत्तरदायी भएको अहिलेको सरकारको कामकार्वाहीले देखिएको बताउनुभयो ।

सभापति बानियाँले क्रियाशिल सदस्य भनेको कांग्रेसको लागि घरको जग जस्तै भएकाले ईमान्दारीपूर्वक पार्टीको सिद्धान्तलाई पछ्याएर संगठन गर्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, सुनिल दाहाल, लोक मुक्तान, सुर्यबहादुर रुम्बा, भीमसेन महत, जमानसिंह वाईबा, सुनिल अधिकारी, सल्लाहकार भरत पराजुली, हेटौंडा नगरसभापति आनन्दराम पराजुली, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दल नेता राजेश भेटवाल, नेता होमनाथ गौतम, विश्व लामा, तरुण दल क्षेत्रीय सभापति सुमन श्रेष्ठ, महाधिबेशन प्रतिनिधि विष्णु शर्मालगायतले बोल्नुभएको थियो ।

यसैबीच ईन्द्रशरोबर गाउँपालिकामा विहिबार भएको क्रियाशिल वितरण तथा प्रशिक्षण कार्यक्रममा पूर्व माओवादी केन्द्रका जिल्ला सदस्य राजेन्द्र परियारसहित नेकपा पार्टी परित्याग गरी ३७ जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाहरुलाई प्रमूख अतिथि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्यद्वय सरिता प्रसाई र गुरु घिमिरे, जिल्ला पार्टी सभापति ईन्द्रबहादुर बानियाँलगायत पार्टी जिल्लाका पदाधिकारी एवं सदस्यहरुले टिका तथा खाँदा लगाएर स्वागत गर्नुभएको थियो ।

यसैगरी ईन्द्रशरोबर गाउँपालिकामा विहिबार भएको क्रियाशिल वितरण तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस गाउँपालिका संयोजकमा पार्टीका जिल्ला सदस्य जमानसिं वाईबालाई संयोजक तोकिएको छ ।

पार्टी सभापति ईन्द्रबहादुर बानियाँले ईन्द्रशरोबर गाउँपालिकाका नेता कार्यकर्तासंग छलफल गरेर जिल्ला सदस्य वाईबालाई संयोजक तोक्नुभएको हो ।

त्यसैगरी नेपाल महिला संघमा ईन्द्र शरोबर गाउँपालिका संयोजकमा लक्ष्मी डंगललाई संयोजक तोकिएको छ भने नेपाल तामाङ संघ ईन्द्र शरोबर गाउँपालिका कान्छा पाख्रिनको अध्यक्षतामा ७ सदस्यीय नेपाल तामाङ संघ गठन गरिएको छ ।

सम्पूर्ण समितिका संयोजक एवं सदस्यहरुलाई केन्द्रीय सदस्यहरु महालक्ष्मी उपाध्याय डिना, सरिता प्रसाई, गुरु घिमिरे, पार्टी सभापति बानियाँलगायत जिल्लाका नेताहरुले टिका लगाएर बधाई दिनुभएको थियो ।