सांसदको अनुकुलतामा प्रदेशसभा, विधेयकमाथि छलफल हुन सकेन

गुगलपाटी संवाददाता हेटौंडा
११ भाद्र २०७५ ०१:५२

प्रदेश नम्बर ३ को साउन ३१ गते बसेको बैठकले ३ वटा विधेयक दफाबार छलफलका लागि समितिमा पठाए पनि २ वटा विधेयकमाथि दफाबार छलफल हुन सकेको छैन ।

विषयगत समितिको बैठक बस्न नसक्दा दुई विधेयकमाथिको छलफल अघि बढ्न नसकेको हो । दैनिक काम गर्न अप्ठ्यारो पर्ने भन्दै प्रदेशको प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने भदौ १ गतेको प्रदेशसभा बैठकबाट पारित भएको छ ।

प्रदेश संस्था दर्ता सम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको विधेयकमाथि सैद्धान्तिक छलफल भएर संशोधनसमेत दर्ता भइसकेका छन् ।

प्रदेश मामिला र शक्षिा, स्वास्थ्य, कृषि समितिको बैठक नबस्दा प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेशसभा सचिवालयको व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल हुन नसकेको हो । भदौ १ गतेदेखि प्रदेशसभाको बैठक अनिश्चित कालको लागि स्थगित भएको छ । प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलका अनुसार सांसदको अनुकुलतालाई हेरेर प्रदेशसभाको बैठक डाक्ने गरिएको छ ।

संसदमा रहेका १०९ जना सांसदमध्ये ८५ जना त काठमाडौंबाटै आउने गर्दछन् । त्यसैले उनीहरुको अनुकुलतामा सभामुखले बैठक बोलाउने गरेका छन् । प्रदेशसभा नबस्दा सांसदहरु पनि काठमाडौंमा बस्ने भएकाले समितिको बैठक पनि बस्दैन र विधेयकमाथि पनि छलफल हुन सकेको छैन । प्रदेशसभा तोकिएको दिनभन्दा एकदिन अघि मात्र समितिको बैठक बस्ने गरिएको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।