नारायणी अञ्चलका करिब २६ हजार नागरिक स्वरोजगार

कृष्णउदास खनाल हेटौंडा,११ भदौ
११ भाद्र २०७५ ०७:१२

प्रदेश संचरना स्थापना हुनुभन्दा अगाडि रहेको नारायणी अञ्चल कार्यालयको पाँच जिल्लाका करिब २६ हजार नागरिकले हेटौंडामा रहेको ब्यवसायिक तथा सीप बिकास तालिम केन्द्रबाट स्वरोजगारका लागि तालिम लिएको पाइएको छ ।
् २०३३ सालमा स्थापना भएको सो कार्यालयले गएको आर्थिक बर्ष सम्ममा सो संख्यामा स्थानीयहरुलाई बिभिन्न शीर्षमा सीप प्रदान गरेको हो । स्थानीयहरुलाई सीप मार्फत आत्मनिर्भर बनाउनका लागि २५ हजार ५ सय ९७ जनालाई बिभिन्न शीर्षकको तालिम दिइएको ब्यवसायिक सीप तथा बिकास केन्द्रका प्रमुख युवराज गुरुङ्गले बताए । उनले सो मध्ये ११ हजार,७ सय ४१ ज्ना पुरुष र १० हजार,८ सय ५६ जना महिलाहरुलाई यो अवधिमा सीप दिइएको बताए ।
खासगरी सो कार्यालयले महिलाहरुका लागि सौन्दर्य,सिलाइकटाइ,पुरुषहरुका लागि पोम्बिंग,इलेक्टिक,बिधुत लगायतका क्षेत्रमा निःशुल्क रुपमा सीप प्रदान गर्दै आइरहेको कार्यालयका सूचना अधिकृत नवराज सापकोटाले जानकारी दिए । हाल सो कार्यालयमा बिषयगत प्रशिक्षकहरु सरकारले नियुक्त गरेको छ ।
अहिले अन्यौलता
यो आर्थिक बर्ष शुरु भएपछि भने कार्यालयको काम ठप्प रहेको छ । मुलुक संघीयतामा गएपछि यो कार्यालय कसको माताहतमा रहने भन्ने बिषयमा अन्यौलता हुँदा काम नै अवरुद्ध भएको कार्यालय प्रमुख गुरुङ्गले बताए । उनले हाल श्रम तथा रोजगार सामाजिक सुरक्षा मंत्रालयमा रहेको कार्यालय अब प्रदेशमा रहन सक्ने बताए । उनले सीप बिकास र सीप दिनका लागि नै खोलिएको यो कार्यालयलाई अझै ब्यवस्थित बनाइनुपर्ने र यसलाई अभिभकत्व कार्यालयको रुपमा बिकास गरिनु पर्ने बताए ।