ओम्याक्समा फेक कि रियल आगलागी ?
गुगलपाटी संवाददाता हेटौंडा
ब्यापारी तिर्थ प्रधानले आफ्नै चलचित्र हल ‘ओम्याक्स’ मा पूर्वयोजना अनुसार आगो लगाएर प्रभु ईन्स्योरेन्समा करोडौं रुपैयाँ क्षतिपूर्ति माग दावी गरेको आरोप लागेको छ । हेटौडास्थित रहेको ओम्याक्स हलमा भएको ‘आगलागी काण्ड’ झुटा भएकाले छानबिन गर्न भन्दै जिल्ला प्रहरी कार्यालय हेटौडा, विमा समितिलगायतका निकायमा उजुरी परेपछि सो आगलागी ‘फेक कि रियल’ थियो भन्दै छानविन भइरहेको छ ।
उक्त आगलागीमा करिब एक करोड बराबरको क्षति भएको बताइएता पनि सञ्चालक प्रधानले करोडौं रुपैयाँ क्षति भएको भन्दै प्रमु ईन्स्योरेन्समा क्षतिपूर्ति दावी गरेका छन् । जबकि गत साउन २३ गते ‘ओम्याक्स’ हलमा आगलागी भएको थियो । सोहि दिन ललितपुरस्थित रहेको प्रभु ईन्स्योरेन्स कार्यालयमा पुगेर करिब ३ करोड बराबरको ईन्स्योरेन्स गरिएको थियो ।
प्रधानले सो बापत ईन्स्योरेन्स कम्पनीलाई १ लाख २० हजारको चेकसमेत प्रिमियम बुझाएका थिए । प्रत्यक्षदर्शीका अनुसार हलमा आगलागी ८ बजेतिर भएको थियो, प्रहरी भने घटनास्थलमा ९ः३० बजेतिर मात्र पुगेको थियो । हलमा आगलागि भएकै दिन ललितपुरमा रहेको प्रभु ईन्स्योरेन्स कार्यालबाट करिब १२ बजे उक्त हलको ईन्स्योरेन्स गरिएको थियो । जसका कारण घटना पुरै शंकास्पद देखिएको भन्दै प्रभु ईस्योरेन्सले भुक्तानी दिन मानेको छैन् । जबकि ईन्स्योरेन्स गराएबापत सञ्चालक प्रधानले दिएको चेक समेत साट्न नपाउँदै हलमा आगलागी भएको खबर चुहिएको थियो ।
प्रभु ईन्स्योरेन्सका अनुसार आगलागी भएपछि ईन्स्योरेन्स गरिएको देखिएको हुँदा दावी शंकास्पद देखिएको हो । कम्पनीले स्वतन्त्र छानविन नभई झुक्तानी समेत दिन नसक्ने जनाएको छ । स्रोतका अनुसार सञ्चालक प्रधानले एक जना क्यासिनो ब्यवसायीमार्फत गृहमन्त्री रामबहादुर थापालाई लगाएर छानबिनमा खटिएको प्रहरी अधिकृतलाई नै त्यहाँबाट हटाउन खोजेका छन् । प्रहरीले छानविनपछि तयार पारेको प्रतिवेदन अनुसार हलमा पूर्वयोजना मुताविक आगो लगाइएको देखिन्छ ।
यस कारण पूर्वयोजना अनुसार लागो लगाइएको थियोः
आगलागी भएको उक्त हलको नेपाल ईन्स्योरेन्स कम्पनीबाट पनि ईन्स्योरेन्स गरिएको रहस्य खुलेको छ । जबकि एउटा समान वा बस्तुको एक ठाउँबाट ईन्स्योरेन्स गरेपछि अर्को ठाउँबाट गर्न नपाइने प्रावधान छ । हलमा आगलागी भएपछि कार्यालयमा भएका सीसी टिभिका सीसी क्यामरा र हार्डडिक्स नै गायब पारिएको छ । जुन प्रधान स्वयम्ले काठमाडौं लगेको हुन सक्ने अनुसन्धानमा खटिने प्रहरीको दावी छ । हलमा १४ वटा आगो निभाउने यन्त्र (फायर इस्टिङगुस्यर) हुँदाहुँदै आगो निभाउने प्रयास नभएको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा हलभित्र पेट्रोल र मबिल पनि भेटिएको थियो, जुन शंकास्पद देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार हलमा ८ बजे आगो लागेको थियो तर प्रहरीलाई भने ९ः३० बजेमात्र खबर गरिएको थियो । अनुसन्धानकै क्रममा सिवाकोटी थर गरेका पालेको खातामा ठूलो रकम फेला परेको छ । सिवाकोटीले उक्त रकम जनपुर चुरोट कारकानामा काम गरेबापत आएको बताएता पनि हिजोआज कुनै प्रकारको रकम बाँडिएको छैन् ।
हलमा आगो लागेका दिन सञ्चालकले सम्पूर्ण कर्मचारीहरुलाई छुट्टी दिएको समेत खुलेको छ । जबकि हल सञ्चालनमा आएदेखि अहिलेसम्म एकैपटक सबै कर्मचारीहरुलाई छुट्टी यसअघि दिइएको थिएन । हलमा भएको आगलागी सम्वन्धमा सञ्चालकको दिएको बयान समेत फरक परेपछि घटनालाई पुरै शंकास्पद मानिएको जिल्ला प्रहरी कार्यालय हेटौडाबाट बुझिएको छ ।
अवैध रुपमा जग्गा विक्री:
उता नगर बिकासबाट फिल्म हल चलाउने प्रयोजनका लागि लिएको उक्त जग्गा विक्री गर्ने पूर्वयोजना मुताविक हलमा आगो लगाएको समेत आरोप लागेको छ । कित्ता नम्बर ३५७१ बाट दुई टुक्रा पारी ४ कठ्ठा जग्गा केहि महिना पहिले अवैधरुपमा विक्री भइसकेको छ ।
जबकि नगरबिकासबाट लिएको जग्गा ब्यापारिक प्रयोजनका लागि कसैलाई पनि विक्री गर्न नपाइने नियम छ । सो सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गर्नुपर्ने देखिएको छ । सो जग्गा कित्ताकाट गरी विक्री गर्न प्रधानले वडा कार्यालय, नगरपालिका, नापी र मालपोतका कर्मचारीलाई घुस खुवाएको आरोप छ ।
सिटिजनपोष्टबाट